Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


‘परीक्षामा अनुत्तिर्णलाई न्यायाधीश नियुक्त गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरियो’


1.2k
Shares

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचेतक बर्तौलाले न्याय सेवा आयोगले लिएको परीक्षा अनुत्तिर्ण भएकाहरुलाई जिल्ला न्यायाधीश नियुक्त गरिएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले परिक्षामा अनुत्तिर्ण भएको न्यायाधीशबाट कस्तो न्यायको अनुभुति गर्ने भनि प्रश्न समेत गर्नुभयो ।

सचेतक बर्तौलाले न्यायाधीश नियुक्तिले न्यायालयप्रतिको मानिसको भरोसा र विश्वासमाथि कुठाराघात भएको बताउनुभयो । उहाँले न्यायाधीश नियुक्तिको यथार्थताको सम्बन्धमा न्याय परिषद् र न्याय सेवा आयोगले समिति समक्ष स्पष्ट पार्नुपर्ने माग गर्नुभयो ।

त्यस्तै, सचेतक बर्तौलाले नेपालगञ्जका चेतन मानन्धरलाई २०७२ असार २८ गते दिउँसै खुडा प्रहार गरी हत्या गरेर आजीवन कारावासको सजाय भोगिरहेको रिगल डन भनिने योगराज ढकाललाई सरकारले कैद मिनाहा गरेकोप्रति पनि आपत्ति जनाउनुभयो । उहाँले सरकारको निर्णयलाई राष्ट्रपतिले लाल मोहर लगाएको भन्दै संविधान र कानूनले दिएको अधिकार गृहमन्त्रीले दुरुपयोग गरेको बताउनुभयो । सरकारको यस कदमले व्यवस्था, संविधान र कानूनमाथि नै प्रश्न सिर्जना गरेको उहाँको भनाई छ ।

Skip This