काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार रु. १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।
८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८-ग’ बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न पाउने छन् । बोलकबोल प्रक्रियामा आइतबार दिउँसो ३ बजेसम्ममा भाग लिन सकिने छ ।
२०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा ब्याजदर लाग्ने पनि राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।
बोलवाला प्रक्रियामार्फत कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने छ ।
यो ऋणपत्रको इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुनसक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ । बोलकबोलमा घटीमा रु. ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु. ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने छ ।
यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुने राष्ट्र बैङ्कले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्