२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024


चिकित्सक संघको बोर्ड बैठकले आवश्यक निर्णय लिन सकेन


1.105k
Shares

काठमाडौं । नेपाल चिकित्सक संघको बैठकले आन्दोलनरत रेसिडेण्ट चिकित्सकहरुसँग छलफल गर्ने भएको छ ।

बुधबार संघको बोर्ड बैठकले आन्दोलनबारे आवश्यक निर्णय लिने भनेपनि ठोस निर्णय गर्न भने सकेन । बैठकपछि संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले आवासीय चिकित्सकसँग छलफल गरेपछि मात्रै आन्दोलनका कार्यक्रम अघि बढाउने वा नबढाउने भन्नेबारेमा निक्र्योल गर्न सकिने बताउनुभयो ।

यद्यपी आवासीय चिकित्सकहरुले आन्दोलन जारी राखेका छन् । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु मंगलवारदेखि आन्दोलनमा छन् । अध्यक्ष कार्कीले चिकित्सकहरुमाथि बारम्बार आक्रमण भइरहेको भन्दै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कार्यान्वयनको विश्वसनीय आधार दिनुपर्ने बताउनुभयो ।

कार्कीले चिकित्सकहरुको आन्दोलनमा ऐक्यवद्धता कायम रहेको बताउनुभयो । उहाँले कानूनको कमजोरीलाई थप संशोधन गरेर मजबुत बनाउनुपर्ने बताउनुभयो । डा. कार्कीले गृह मन्त्रालयमा भएको वार्ताबारे आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने र आन्दोलनलाई कसरी अगाडी बढाउनेबारे थप निर्णय हुने बताउनुभयो । उहाँले आन्दोलन जायज भएकाले आन्दोलन फिर्ता नलिने बताउनुभयो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित बुधबार भएको छलफलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित)ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टाँस्ने निर्णय गरेको थियो ।