
काठमाडौं । नेपालको चिकित्सा क्षेत्रमा सम्मानका साथ लिइने नाम हो, डा. गौरी शंकरलाल दास । वरिष्ठ छातीरोग विशेषज्ञ डा. दास असोज ९ गते सय वर्षमा प्रवेश गर्नुभएको छ । सोही अवसरमा एक समरोहकाबीच उहाँलाई अभिनन्दन गरिएको छ ।
डा. गौरी शंकरलाल दास नेपालको चिकित्सा क्षेत्रका साथै सामाजिक अभियानमा पनि परिचित नाम हो । १९८१ मा सिराहामा जन्मनु भएका डा. दास वरिष्ठ छाती रोग विशेषज्ञ हुनुहुन्छ । १९९७ मा गोरखपुरबाट ‘म्याट्रिकुलेशन’ गर्नुभएका उहाँले आईएस्सी र बीएस्सी अध्ययनपछि चिकित्सा शास्त्रको अध्ययन गरेर बीर अस्पतालबाट २००९ सालमा सेवा सुरु गर्नुभयो । त्यो समयमा बीर अस्पतालमा विपन्न वर्गका मानिस मात्रै उपचारका लागि जाने गर्दथे ।
ठूलाबडाको लागि घरमै गई उपचार गर्नुपथ्र्यो । उहाँले तत्कालिन राजपरिवारका सदस्यको निजी चिकित्सकको रुपमा पनि सेवा गरेको बताउनुभयो । डा. दास अहिले सय वर्ष पुग्नुभएको छ । तर, सय वर्षको हुँदा पनि आफूलाई कहिल्यै बुढ्यौली महसुस नभएको उहाँको अनुभव छ ।
दुई छोरी र दुई छोराका पिता उहाँको परिवारका सबैजसो सदस्य जम्मा भएपनि पत्नीको भने रिक्तता महसुस भएको परिवारका सदस्यहरु बताउँछन् । बुवा एक सय वर्ष भएकोमा धेरै खुशी लागेको डा. दासकी छोरी सीता दास बताउनुहुन्छ ।
काठमाडौं महानगरपालिका र डा. गौरी शंकरलाल दास जन्म शताब्दी वर्ष २०८० मुल समारोह समितिद्धारा सय वर्ष पुगेको अवसरमा अभिनन्दन गरिरहँदा उहाँ निकै प्रफुल्ल मुद्रामा रहनुभयो ।
क्षयरोग निवारण संस्था, रेडक्रस र परिवार नियोजन संघ जस्ता संस्थामा लामो समय काम गरिसक्नु भएका डा. गौरीशंकर लाल दास कुष्ठरोग निवारण संघ, बीपी कोइराला आई फाउन्डेशन लगायतका थुप्रै संस्थामा आवद्ध रहनुभयो । डा. गौरी शंकरलाल दास २०५७ देखि ६२ सालसम्म मानव अधिकार आयोगको सदस्य समेत रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्