
काठमाडौं । सुरुवाती अवस्थामानै अल्जाईमर्सको पहिचान गरि नियन्त्रण गर्नसके जोखिम कम हुने विज्ञहरुले बताएका छन् ।
विश्व अल्जाईमर्स दिवसको अवसरमा बिहीवार काठमाडौमा आयोजित ग्राण्डी एक कार्यक्रममा विज्ञहरुले सुरुवाति अवस्थामानै अल्जाईमर्स पहिचान गरी नियन्त्रण गर्न सकेको अवस्थामा यसको जोखिमलाई कम गर्न सकिने बताएका हुन् । बिर्सिने रोग परिवारमा धेरैलाईनै भएको हुनसक्ने भन्दै शुरुवातमा रोगको निदान आवश्यक पर्ने विज्ञहरुको जोड छ । अल्जाईमर्स रोग (विस्मृति) बिर्सने समस्या निम्त्याउने प्रमुख कारण हो । यो रोग लागेको व्यक्तिमा सुरुवातमा स्मरणशक्ति ह्रास हुने र समयसँगै रोग बढ्दै जाँदा पछि कुरा गर्न र प्रतिकृया दिन असक्षम हुने हुन्छ ।
विज्ञहरुका अनुसार अल्जाईमर्स रोगले सोचाई, स्मरणशक्ति र भाषा नियन्त्रण गर्ने मस्तिष्कका भागमा असर पु¥याई व्यक्तिलाई दैनिक गतिविधि गर्न असक्षम बनाउँछ । बारम्बार एउटै कुराहरु सोधिरहनु, आफूले राखेका सामानहरु फेला पार्न नसक्नु, नियमित गरिरहने कार्यहरु गर्न अफ्ठ्यारो हुनु, सामान्य समस्याहरु समाधान गर्न नसक्नु, मिति समय तथा स्थानका सम्बन्धमा ज्ञान हराउँदै जानु, स्वविवेक शक्ति क्षिण हुनु, देखेका कुराहरु नचिन्नु अल्जाईमर्स रोगका लक्षणहरु हुन् । न्युरोलोजिष्ट डा.राजु पौडेलले अल्जाईमर्सलाई विस्मृति रोगका रुपमा चिनिने भन्दै यो समस्या अधिकांश ६५ वर्ष उमेर पूरा भएपछि देखापर्ने बताउनु भयो । अल्जाईमर्स हुनुको मुख्य कारण स्मरण शक्ति ह्रास हुनुुभएको भन्दै बेलैमा पत्ता लगाए थप जोखिम नहुने बताउनु भयो । उहाँले अल्जाईमर्स हुन नदिन जनचेतना आवश्यक पर्ने भन्दै यो रोग लागिसकेपछि दिमागको कोषिकाका तन्तुहरु बिस्तारै सुक्दै जाने बताउनु भयो । डा.पौडेलले नेपालमा अनुमानित एक लाख ३० हजार व्यक्तिमा विस्मृति रोग हुन सक्ने आँकडाले देखाएको बताउनु भयो ।
उहाँले अल्जाईमर्स भएका व्यक्तिहरुले गुणस्तरीय स्वस्थ जीवन अवलम्वन गर्नुपर्ने बताउनु भयो । अल्जाईमर्स भएकाहरुले धेरै चिल्लो पदार्थ र नुन धेरै खान नहुने र सुगर भएमा यसको उपचार गर्नुपर्ने बताउनु भयो । उहाँले रक्तचाप नियन्त्रण गर्नुपर्ने भन्दै समयमै उपचार गर्न सके अल्जाईमर्स बढ्ने क्रमलाइ कम गर्न सकिने बताउनु भयो । अल्जाईमर्स भएकाहरुले नियमित व्यायाम गर्नुपर्ने र सुर्तीजन्य तथा मादकपदार्थ सेवन गर्न नहुने पनि उहाँको भनाई छ ।
मधुमेह, अत्याधिक मोटोपना, टाउकोमा लाग्ने चोटपटक, सामाजिक रुपमा निष्क्रिय जीवनशैली लगायतका कारणले अल्जाइमर्सको जोखिम बढ्ने विज्ञहरु बताउँछन् । ज्येष्ठ नागरिकको उपचारका लागि सरकारले प्रत्येक स्वास्थ्य संस्थाहरुमा ज्येष्ठ नागरिक उपचार विभागको व्यवस्था गर्नुपर्ने सरोकारवालाहरुको जोड छ ।
प्रतिक्रिया दिनुहोस्