११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


पत्रकार महिलाहरुको अवस्था, चुनौती र अवसरबारे छलफल


0
Shares

बासुदेव बर्मा

कपिलवस्तु, भदौ २४ । ‘संस्कृतिको जगेर्ना गरौं, तिजलाई सभ्य बनाऔं’ भन्ने मुल नाराका साथ पत्रकार महिलाहरुको अवस्था, चुनौती र अवसरका बारेमा कपिलवस्तुमा आइतबार वृहत अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

वुद्धभुमि नगरपालिकास्थित ढेकरीमा आयोजित कार्यक्रमलाई उद्घाटन गर्दै शिवराज नगरपालिकाका उपमेयर शिवकुमारी थारुले पत्रकार महिलाहरुलाई पेशामा टिकाईरहन राज्यका हरेक निकायले अधिकतम हौसला र अवसर दिनुपर्ने बताइन् ।

पुरुषसरह श्रम र सम्मान पाउनु महिला अधिकार रहेको भन्दै उनले आफ्नोतर्फ बाट पत्रकार महिलाहरुलाई सँधै सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं प्रदेश नं ५ का ईन्चार्ज बसन्त गिरीले संचार माध्यममा लैंगिक नीति निर्माण, कार्यान्वयन र व्यवहार लैंगिकमैत्री बनाउनु पर्ने, नियुक्तिमा महिलालाई प्राथमिकता दिनुपर्ने, तलबसहितको सुत्केरी बिदा र सञ्चार गृहमा शिशु स्याहार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए ।

उनले सञ्चार संस्थाको नीति निर्माण तहदेखि तल्लो तहसम्म ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, परिणाममुखी अन द जब टे«निङ सञ्चालन गर्नुपर्ने, श्रमजिवी पत्रकार ऐनको पुर्ण कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिए ।

त्यस्तै नेपाल पत्रकार महासंघ प्रदेश नं ५ का सदस्य मनोज श्रीवास्तवले पत्रकार महिलाहरुको बहुआयमिक प्रतिभा विकासमा पत्रकार संगठनले पहल गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाका जिल्ला अध्यक्ष डिलाराम भुषालले महिला नेतृत्वका सञ्चार संस्थालाई राज्य सरकार र स्थानीय सरकारबाट विशेष सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वअध्यक्ष भेषराज पाण्डेले महिला पत्रकार पत्रकारिता नयाँ आयाममा अद्यावधिक हुनुपर्ने बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष एवं तिज विशेष कार्यक्रमका संयोजक पार्वती पाण्डेले महिला पत्रकारको विद्यमान अवस्था, अवसर र चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कपिलबस्तुका पत्रकारहरुको जोडीसहितको उपस्थितिले कार्यक्रमलाई ओझिलो बनाएको थियो । जिल्लामा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले जनाएको छ ।