
काठमाडौं । मनोविद्हरुले आत्महत्या रोकथाममा मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताएका छन् ।
अन्तरध्वनी नेपालको आयोजनामा आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार काठमाडौंमा आत्महत्या रोकथाममा पत्रकारको भुमिका विषयक एक दिने कार्यशालामा बोल्दै मनोविद्हरुले यस्तो बताएका हुन् ।
मनोविद् डा.नरेन्द्रसिंह ठगुन्नाले मानसिक स्वास्थ्यको समस्याको कारणले आत्महत्याका घटना हुने गरेको भन्दै स्थानीय तहसम्मै मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताउनुभयो । उहाँले गरिबी, अशिक्षा र वैदेसिक रोजगारको कारणले परिवारमा विखण्डन आउँदा आत्महत्याका घटना बढेको बताउनुभयो । उहाँले राज्यका निकायहरुले मानसिक स्वास्थ्य साक्षरताबारे समुदायलाई जानकारी गराउनुपर्ने बताउनुभयो । आत्महत्या रोकथाम सबैको सामाजिक दायित्व भएको भन्दै आत्महत्याको जोखिम भएका व्यक्तिमध्ये करिव ९० प्रतिशतलाई पहिचान गर्न सकिने बताउनुभयो । आत्महत्या रोकथामका लागि मनका भावनालाई अभिव्यक्त गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्ने डा.ठगुन्नाको भनाई छ ।
मनोविद् पदमराज जोशीले आत्महत्या रोकथाममा समाज, शिक्षक, प्रहरी र समुदायको भुमिका रहने बताउनुभयो । उहाँले आत्महत्या रोकथाममा कनेक्ट, केयर र कनेक्टीभिटीलाई जोड्न सक्नुपर्ने बताउनुभयो । जोशीले प्रत्येक स्थानीय तहले सचेतना जगाउने कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सरकारले मानसिक स्वास्थ्य रणनीति बनाएपनि त्यो कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । शहरीकरणले इच्छा आकांक्षा बढ्दै जाने र इच्छा आकांक्षा समयमै समाधान हुन नसके व्यक्तिमा तनाव सृजना हुने बताउनुभयो । उहाँले व्यक्तिले जहिलेपनि सकारात्मक सोच राख्नुपर्ने बताउनुभयो ।
सहभागीहरुले आत्महत्या रोकथामका लागि समाजमा सचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक वर्ष आत्महत्याका कारण आठ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने अनुमान छ । मनोविद्हरु आत्महत्याका समाचारको रिपोर्टिङ तथा संप्रेषणमा संवेदनशील र उत्तरदायी हुन आवश्यक रहेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्