Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


नारायणहिटी दरबार नामाकरण भएको धारा नै संरक्षणको अभावमा


1.1k
Shares

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ

काठमाडौं । एकातिर नारायणहिटी दरबार संग्रहालय अवलोकन गर्नेहरुको भीड लागिरहँदा त्यसैको आडमा रहेको नारायणहिटी धारा लथालिंग अवस्थामा छ । नारायणहिटी दरबारको ऐतिहासिक महत्वसँग जोडिएको धारा संरक्षणमा न नगरपालिकाको चासो छ, न संग्रहालय प्रशासन नै अग्रसर छ । बरु एकाध मानिसको प्यास मेट्नमै यो अमूल्य धारा सीमित छ ।

नेपालको प्राचीन र ऐतिहासिक धारा मध्येको एक नारायणहिटी धारा रहेको स्थल संरक्षण अभावमा अस्तव्यस्त छ । जताततै घाँसैघाँस अनि हेर्दै उराठ लाग्दो यो स्थलमा रहेका हरेक वस्तुको आफनै कथा र महत्व छ । देशका प्रसिद्ध धारामध्येको एक नारायणहिटी धारामा पानी आउन छोडेपछि राजा बिक्रमकेशरीले ज्योतिषीसँग सल्लाह लिने क्रममा ३२ लक्षण रहेका कुनै पनि व्यक्तिको बली दिएपछि पानी आउने बताएलगत्तै राजा स्वयंले बली दिएपछि धारामा पानी झरेको किंबन्दती छ ।

राजाका छोरा भुपकेशरीलाई धारामाथि भुत रहेको झुठो विवरण दिई रातको समयमा काट्न लगाएको र हातमा लागेको रगत पखाल्ने क्रममा मात्रै यहाँ रहेका ढुंगेधाराले बुबाको हत्या गर्नेको मुख नहेर्ने भनेपछि ढुंगेधाराले मुख फर्काएको उल्लेख भएको नारायणहिटी गुठी व्यवस्थापन समितिका अध्यक्ष रोहिणीप्रसाद पौडेलले बताउनुभयो ।

राजा बिक्रमकेशरीको काटिएको शिर साँखुमा राखिएको छ भने शरीरको अन्य भाग यहीँ रहेको बताइन्छ । यहाँको धारामा दशकौंदेखि निरन्तर रुपमा निर्मल पानी बगिरहेको छ । यो पानीको निकास लालदरबार, कालधारा हुँदै रानीपोखरी सम्म पुग्ने गरेकोमा अहिले अवैध संरचना बनेका कारण यहाँको पानी टुकुचा खोलामा मिसिने गरेको छ । त्यसो त निर्मल पानी धाराबाट बगिरहँदा पानी जम्मा हुने पोखरी लेउले भरिएको छ । यहाँ रहेका माछाहरु समेत चोरी हुन थालेका छन् भने सरसफाइका अभावका कारण जताततै जीर्ण र फोहोर देखिन्छ । त्यतिमात्र नभई बीचभागमा रहेका पानीको फोहोरामा पानी आउन छोडेपनि यसको ममर्त सम्भार हुन सकेको छैन । बजेटको अभावमा संरक्षण गर्न नसकेको हिटी संरक्षण समितिका सचिव निर्मल महर्जन बताउनुहुन्छ ।

यहाँ रहेको हिटी मात्र होइन, हरेक पुरातात्विक वस्तु जताततै मिल्काइएका छन् । २०७२ सालको भूकम्पका कारण ढलेको यो गरुड कुनामा मिल्काइएको छ । न यसको संरक्षण गरियो न त मर्मत सम्भार नै । त्यसो त १९३१ सालामा राणा प्रधानमन्त्री धीर शमशेरले आफनै डिजाइनमा बनाएको कमलको फूल आकारको यो मन्दिर भने केही हदसम्म रंगरोगन गरी राखिएको छ । त्यतिबेलै बनाइएको यो घण्टी भने जस्ताको तस्तै छ । यही धाराको नामबाट राजा बस्ने त्यत्रो नारायणहिटी दरबारको संरचनाको सुधार गरिँदा धारा दुरावस्थामा रहनु उचित मान्न सकिदैन ।