१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


आपसी सदभाव, भाइचारा र एकता कायम गर्न धरानका मेयर राईको अपिल


1.092k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सदभाव, भाइचारा र एकता कायमका लागि धरान नगरवासीमा अपिल गर्नुभएको छ ।

नगर प्रमुख राइले आज शुक्रबार एक अपिल प्रकाशित गर्दै समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने उल्लेख गर्नुभएको छ । उहाँले अपिलमा कुनै पनि प्रकारको समाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न अनुरोध पनि गर्नुभएको छ ।

राईले अपिलमा भन्नु भएको छ –’विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो सहर धरानमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको छ । बहुजातीय, बहुधार्मिक सांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो ।’ अपिलमा राईले ‘सयौँ थुँगा फुलका हामी एउटै माला नेपाली’ भन्ने भावलाई आत्मसात गर्न आह्वान गर्नुभएको छ । विगत केही दिनदेखि धरानमा भइरहेको धार्मिक तथा सांस्कृतिक विबादले सबैलाई सम्वेदनशील बनाएको अवस्थामा राइले अपिल जारी गर्नुभएको हो । धरानका पूर्व मेयरहरुले पनि सामाजिक सद्भावका लागि भोली शनिवार नागरिक स्तरबाट र्‍याली निकाल्ने तयारी गरेको भन्दै बिहिबार विज्ञप्ति जारी गरेका थिए ।