 
	    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्छिन् ।
विद्यालयमा हरेक दिन बिहान ६:०० देखि ७:३० बजेसम्म सिलाइकटाइसम्बन्धी प्रशिक्षण हुन थालेको दुई महिनामा तामाङले कपडा सिलाउने धेरै अभ्यास गरिसकेकी छिन् । “सधैँ किताबमात्र पढिरहँदा ध्यान केन्द्रीत हुँदैन थियो तर फरक सीप सिक्दा नयाँ सीप र पढाइ दुवै राम्रो भइरहेको छ”, उनले भनिन् ।
गत दुई महिनादेखि विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गतको सिलाइकटाइ तालिममा सरुखाजस्तै सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत ४३ विद्यार्थी सहभागी भई पढाइसँगसँगै सीप पनि सिकिरहेका छन् । कक्षाका छात्र–छात्रा सबै जना सिलाइकटाइ तालिममा सहभागी हुने गरेका छन् ।
हुप्सेकोट गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरी १२ वटा माध्यमिक विद्यालयमा फरक–फरक सीपमूलक तालिम सञ्चालन गरेको छ । सोहीअन्तर्गत सूर्यज्योति माविमा सिलाइकटाइ तालिम सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक निमु गिरीले बताए ।
विद्यालयले १५ सिलाइ मेसिन स्थानीय अभिभावकसँग सहयोग मागेर तालिम सञ्चालन गरेको छ । “गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा उपलब्ध गराउने रु ६२ हजार पाँच सयबाट एक जना प्रशिक्षक र आवश्यक सामग्री व्यवस्थापन गरेका छौँ”, उनले भने ।
विद्यालयका विद्यार्थीलाई व्यावसायिक सीप सिकाउने कार्यक्रमले विद्यालय तह उत्तीर्ण गर्दा विद्यार्थीमा व्यावसायिक सीपको पनि विकास हुने हुँदा यो कार्यक्रम निकै प्रभावकारी हुने प्रअ गिरीले बताए । हुप्सेकोट गाउँपालिकाले गत शैक्षिकसत्रमा चारवटा विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रम अहिले १२ विद्यालयमा सञ्चालन गरेको छ ।
कक्षा ९ र ११ मा अध्ययनरत विद्यार्थीलाई एक सय ८० घण्टे सीपमूलक तालिम सञ्चालन गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए । “प्राविधिक तालिमकै लागि पालिकाले १२ विद्यालयलाई रु ६२ हजार पाँच सयका दरले रु सात लाख ५० हजार बजेट विनियोजन गरेको छ”, उनले भने “यो वर्ष चार सय ५० विद्यार्थीले तालिम लिइरहेका छन् ।”
हुप्सेकोट गाउँपालिकाको शिक्षा ऐनमा नै विद्यार्थीलाई प्राविधिक सीप सिकाउने बुँदा समेटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरेले बताए । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका संस्थागत विद्यालयमा पनि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छौँ”, उनले भने । सीपमूलक तालिम नियमित कक्षालाई असर नपर्ने गरी बिहान र साँझको समयमा सञ्चालन गर्न विद्यालयलाई समन्वय गरिएको घिमिरेले बताए।
आर्थिकरूपले विपन्न समुदायका विद्यार्थीलाई यस्तो तालिमले धेरै सहयोग पुग्ने अपेक्षा गरिएको शिक्षा अधिकृत माधवराज गौतमले बताए। “यस क्षेत्रमा धेरै विद्यार्थी आर्थिकरूपले कमजोर छन्”, उनले भने “यस्ता व्यावसायिक सीपले वैकल्पिक आयआर्जनमा सहयोग पुग्ने छ ।”
पढ्दै कमाउँदै कार्यक्रमले विद्यालयमा विद्यार्थी टिकाउ दर बढेको नेपाल शान्ति मावि हुप्सेकोट–३ बेलाहानीका प्रधानाध्याक सूर्य भण्डारीले बताए । “हाम्रो विद्यालयका कक्षा ९ का ४० र कक्षा ११ का ३० विद्यार्थी प्लम्बिङ तालिममा सहभागी भएका छन् ।
तालिम लिन पाउँदा विद्यार्थी खुसी देखिएका छन् । सीपमूलक तालिममा सहभागी भएपछि विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गर्न सहज भएको शिक्षकहरूको अनुभव रहेको छ । हुप्सेकोट गाउँपालिकाको चालु आर्थिक वर्षको कुल बजेट रु ५१ करोड ७८ लाख ८४ हजार रहेको छ । उक्त बजेटमध्ये शिक्षामा मात्रै रु २० करोड नौ लाख ५४ हजार विनियोजन गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्