Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


सबै उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गरौं : सांसद पन्थ


130
Shares

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले २०४६ सालभन्दा अघि र पछिका सबै उच्चपदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न माग गर्नुभएको छ ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद पन्थले हालसम्मका सबै उच्च पदस्थ व्यक्ति, कर्मचारी, पदाधिकारी, जनप्रतिनिधि, सांसद, मन्त्री, प्रधानमन्त्री सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनुभएको हो । उहाँले संविधान र व्यवस्था ठिक छैन भन्ने भाष्यका साथ ०४६ सालपछिका व्यक्तिहरुको सम्पति छानविन गर्ने माग गरिएको भन्दै उहाँले ०४६ सालभन्दा अगाडिका पनि सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताउनुभयो ।

सांसद पन्थले संविधान र व्यवस्था ठिक छैन भन्ने भाष्य अन्त्य गर्नका लागि पनि सबैको सम्पत्ति छानबिन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले ०४६ अघिको व्यक्ति र व्यवस्था ठिक नभएर नै परिवर्तन गर्नुपरेको उल्लेख गर्दै त्यस अघिका पनि सबैको छानविन हुनुपर्ने उहाँले माग गर्नुभयो ।

सांसद पन्थले भ्रष्टाचारविरुद्ध सरकार निर्मम हुनुपर्ने बताउनुभयो । विभिन्न काण्डहरु सेटिङमा मिल्नसक्ने भन्दै कुनैपनि काण्डहरुलाई ढिसमिस नगर्न उहाँले सरकारलाई अनुरोध गर्नुभयो ।