
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुने बताउनुभएको छ ।
चितवन र मकवानपुर जिल्लाका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको प्रतिनिधिमण्डलसँग आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । यसका लागि वन ऐन संशोधनका क्रममा रहेको बताउँदै प्रधानमन्त्री दाहालले, मध्यवर्ती क्षेत्रका स्थानीयको समस्या सम्बोधन गर्न आफूले पहल गर्ने पनि बताउनुभयो ।
प्रतिनिधिमण्डलमा दुई जिल्लाका मध्यवर्ती क्षेत्रका जनप्रतिनिधि र बासिन्दासहित नेपाली कांग्रेसका महामन्त्री गगन थापा र कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रकुमार बानियाँ सहभागी हुनुहुन्थ्यो । प्रतिनिधिमण्डलले निकुञ्ज क्षेत्रबाट निस्कने वन्यजन्तुले मध्यवर्तीवासीलाई दुःख दिने, निकुञ्ज क्षेत्रका नदीजन्य पदार्थ प्रयोगमा समस्या, जग्गा नापजाँचमा समस्या भएको विषय सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्