१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


नेपाल–भारत सीमा क्षेत्र दशगजामा अतिक्रमित संरचना हटाइयो


2.639k
Shares

सर्लाही । सर्लाहीको नेपाल–भारत सीमा क्षेत्र दशगजामा वर्षौदेखि अतिक्रमण गरेर बनाइएको घर, टहरा र पसल हटाइएको छ ।

दशगजा क्षेत्रमा नेपाल र भारत दुवैतर्फका नागरिकले अतिक्रमण गरी घर निर्माण गर्ने, घुम्ती पसल राख्ने र बजार बसाल्ने गर्दै आइरहेका थिए ।

नेपालतर्फका सशस्त्र प्रहरी बल र भारततर्फका सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त प्रयासबाट भारतको बिहारसँग जोडिएको सीमामा लामो समयदेखि भइरहेको अतिक्रमण हटाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

दुवैतर्फका सुरक्षाकर्मी मिलेर दशगजा क्षेत्रमा रहेका ४१ वटा घर, टहरा र पसल हटाएका छन् । सबैभन्दा धेरै विष्णु गाउँपालिका–५, फेन्हरा तथा भारततर्फ जिल्ला सितामढी बगाहा ग्रामपञ्चायत २ मा पर्ने दशगजा क्षेत्रमा मात्रै २८ वटा घर, टहरा र चिया पसल हटाइएको हो ।

ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगर सेखटोल र भारततर्फ जिल्ला सितामढी सोनवर्षा ग्रामपञ्चायत ८, सोनवर्षामा ८ वटा घर तथा पसल हटाइएको छ । अहिले दुवै तर्फका सुरक्षाकर्मीले आ–आफ्नो सीमा क्षेत्रमा बसेर डिउटी गरिरहेका छन् ।