३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा


0
Shares

चितवन, असार ५ । एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौंडाले धरौटीमा रिहा गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर–४, त्रिचोकमा क्षेत्रमा बसोबास गर्दै आएकी एक महिलालाई उनले गत वैशाख ९ गते तेजाब छर्केका थिए ।

शरीरका विभिन्न भागमा तेजाब परेर महिला बिरामी भइ अस्पतालमा उपचारपछि घर फर्किएकी र उनले प्रहरी नायब निरीक्षक खनियाँविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत् जेठ ३ गते जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएकी थिइन् ।

अदालतका सूचना अधिकारी केशव पौडेलकाअनुसार जिल्ला अदालतले मुलुकी ऐन अदालती बन्दोबस्तीको ११८ को २ बमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

खनियाँले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै उच्च अदालत हेटौंडामा निवेदन पेस गरेकामा उक्त अदालतले रु तीन लाख धरौटीमा रिहा गरेको पौडेलले बताए ।

पीडित महिला र उनका श्रीमान्ले खनियाँविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत् प्रहरीमा जाहेरी दिएका थिए । रासस