काठमाडौं, भदौ २३ । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत् शनिबार साँझ हुने बंगलादेशविरुद्धको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ ।
नेपालले भुटानविरुद्ध खेलेकामध्ये दुई खेलाडी परिवर्तन गरेको हो ।
बंगलादेशविरुद्ध पनि गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् ।
नेपालले शनिबार अन्जन विष्टको स्थानमा भरत खवास र विशाल राईको स्थानमा निराजन खड्कालाई टोलीमा राखेको नेपाली प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए ।
सेमिफाइनलमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।
मुख्य प्रशिक्षक महर्जनले आजको खेलमा नेपाली टोलीलाई चार, चार, दुईको ढाँचामा खेलाडी मैदान उतार्ने बताएका छन् ।
नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, मिडफिल्डरमा रोहित चन्द, निराजन खड्का, सुजल श्रेष्ठ, सुनिल बल र फरवार्डमा विमल घर्तीमगर तथा भरत खवास छन् ।
बंगलादेशविरुद्ध विगतको नतिजा हेर्ने हो भने नेपालको पक्षमा छैन ।
साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध ६ पटक प्रतिस्पर्धा गरिसकेको नेपालले चारमा पराजित र दुईमा जित हासिल गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्