
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गर्नुभएको छ ।
चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा आयोजना गरेको सप्ताहव्यापी समापन कार्यक्रममा आज यहाँ उनले स्वदेश र विदेशमा रहेका लाखौँ युवालाई देशभित्रै विकास निर्माणका कार्यमा जुटन आग्रह गर्नु भएको हो ।
प्रधानमन्त्री दाहालले आउने दिनमा नेपालले कोल्टे फेर्दै जाने र विकासले गति लिने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा हर हालतमा सुशासन, बेथिति र भ्रष्टाचारको अन्त्य हुनैपर्छ, तल परेको समुदायलाई माथि ल्याउने कार्यक्रम ल्याउनुपर्छ ।” नेपाली युवाभित्र अन्तरनीहित सिर्जनात्मक क्षमता र प्रतिभालाई देशको आर्थिक विकास र समृद्धिका निम्ति कसरी सदुपयोग गर्ने भन्नेमा आफ्नो ध्यान गएको उहाँले बताउनु । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, , “प्रधानमन्त्रीको हैसियतमा केही दिनदेखि लगातार नै विदेशमा जाने युवा श्रमिकको हकहितको संरक्षण कसरी गर्ने भन्ने विषयमा लागिरहेको छु ।”
आफूले युवाका निम्ति योगदानमा आधारित सुरक्षा कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै उहाँले त्यसमा आजसम्म आउँदा झन्डै तीन लाख विदेशमा रहेका श्रमिक आबद्ध भइसकेको जानकारी आफूलाई प्राप्त भएको बताउनुभयो । विदेश जाने युवालाई सुरक्षित र सम्मानजनक कामका अवसरका लागि कसरी वातावरण निर्माण गर्ने भन्ने चुनौती रहेको उहाँको भनाइ थियो ।
भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो गम्भीर कुराकानी भएको उल्लेख गर्दै उनले प्राकृतिक खेती या उत्पादन वृद्धि गर्ने सबै प्रविधिको सदुपयोग र सहकार्य गर्नेबारेमा केही समझदारी बनेको बताउनुभयो । नेपालमा मल कारखाना निर्माण गर्नेबारे सैद्धान्तिक सहमति गरेको उहाँले जानकारी दिनुभयो ।
अहिले भारत र बङ्गलादेशसँग जलविद्युत्का सम्बन्धमा सहमति भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । आफू इटाली जाँदा रोममा बङ्गलादेशका प्रधानमन्त्रीसँग कुरा हुँदा पनि नेपालको विद्युत् र कृषिका क्षेत्रमा लगानी गर्नसक्ने सम्भावनाबारे कुराकानी भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले युवाका लागि महानगरपालिकाले विभिन्न काम गरेको उल्लेख गर्दै स्वदेशमै युवाले रोजगार पाउने अवस्थाको सिर्जना गर्न सबै लाग्नुपर्ने बताउनुभयो। उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रम गरेर युवामा ऊर्जा थपेको बताउनुभयो ।
सो अवसरमा थारु, तामाङ, मगर र बोटे संस्कृति झल्किने नाचगान प्रस्तुत गरिएको थियो । सप्ताहव्यापी कार्यक्रमका उत्कृष्टलाई पुरस्कृतसमेत गरिएको थियो ।






प्रतिक्रिया दिनुहोस्