Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


राजधानीमा देशभरका निर्माण व्यवसायीहरूको प्रदर्शन


377
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन अन्र्तगत बुधवार राजधानीमा देशभरका निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर सिठ्ठी जुलुश गरेका छन् ।

महासंघको निर्देशन बमोजिम ७ प्रदेश तथा ७७ जिल्लाबाट आएका निर्माण व्यवसायीहरू जुलुशमा सहभागी भएका थिए । महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा महासंघको कार्यालय अनामनगरबाट शुरु भएको जुलुश संसद् भवन नयाँ बानेश्वर अगाडि पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीहरूका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन शुरु गर्नुपरेको बताउनुभयो ।

महासंघका महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीहरूको समस्या नसुनेका कारण सिठ्ठी फुकेर ध्यानाकर्षण गराइएको बताउनुभयो । कोण सभामा निर्माणसँग सम्बन्धित् विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए ।

नेपाल क्रसर तथा खानी उद्योग महासंघका अध्यक्ष सिताराम न्यौपानेले निर्माण व्यवसायीहरूको अरबौं रकम भुक्तान नहुँदा समग्र निर्माण क्षेत्र अस्तव्यस्त भएको बताउनुभयो । निर्माण व्यवसायीहरूको आन्दोलनको प्रभाव ढुङ्गा, गिट्टी, बालुवा लगायतका व्यवसायीहरूलाई परिसकेको भन्दै अध्यक्ष न्यौपानेले निर्माण व्यवसायीहरूको जायज मागहरू तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनिर्यस् फर्मस् (स्क्याफ) का महासचिव कमल कार्कीले निर्माण उद्योग चलायमान नभएका कारण अर्थतन्त्रमै समस्या आएको बताउनुभयो ।

व्यवसायीहरूको अर्वौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा छन् ।