काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपरेको बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालले भक्तपुरमा आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोषको भारी गणतान्त्रिक व्यवस्थाले बोक्नुपरेको बताउनुभएको हो । उहाँले गणतान्त्रिक व्यवस्था आफैँमा राम्रो व्यवस्था भएपनि केही खराब कामको दृष्टान्त दिदैँ गणतान्त्रिक व्यवस्थामाथि प्रहार हुने गरेको बताउनुभयो । व्यवस्था र व्यवस्था सञ्चालक फरक–फरक कुरा भएको भन्दै उहाँले व्यक्तिले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउनु नहुने धारणा राख्नुभयो ।
उहाँले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ र राम्रो लोकतान्त्रिक गणतन्त्र भएको भन्दै यसलाई सुदृढ बनाउनका लागि मिडियाले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो । मन्त्री शर्माले मिडियाले सबै क्षेत्रका सकारात्मक कुराहरुलाई पनि स्थापित गराउन लाग्नुपर्ने बताउनुभयो ।
मन्त्री शर्माले सामाजिक सञ्जालका कारण कतिपय मान्छेहरुको आत्महत्या गर्नेसम्मको अवस्था आएको भन्दै सामाजिक सञ्जालको नियमन आवश्यक रहेको बताउनुभयो । सरकारले नियमावली बनाएर भएपनि सामाजिक सञ्जाललाई व्यवस्थित गर्न लागिरहेको उहाँले उल्लेख गर्नुभयो ।






प्रतिक्रिया दिनुहोस्