
एजेन्सी । युक्रेनमा रुसी आक्रमण कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न साउदी अरेबियामा शिखर सम्मेलन सुरू भएको छ ।
साउदी अरबको जेद्दामा आयोजित यस सम्मेलनमा ४० देशका प्रतिनिधि सहभागी रहेको बताइएको छ । रूस वाहेकका मुलुकका प्रतिनिधि सम्मिलित उक्त बैठकले रूसको आक्रमण कसरी अन्त्य गर्ने भन्नेबारे मस्यौदा तयार पार्नेछन् ।
शनिबारबाट सुरु भएको सम्मेलनमा रूस युक्रेन युद्धका कारण खाद्यान्न, इन्धन लगायतमा प्रभावित विकासोन्मुख देशका प्रतिनिधि पनि सहभागी छन् । यो सम्मेलनले यसै वर्ष विश्वका नेताहरूको ‘शान्ति शिखर सम्मेलन’ गर्ने सिद्धान्तलाई समर्थन गर्ने अपेक्षा गरिएको छ । सो किभको १० बुँदे सूत्रमा आधारित हुनुपर्ने युक्रेनको धारणा छ ।
युक्रेनको उक्त सूत्रले क्षेत्रीय अखण्डताको सम्मान र रुसी सेनालाई फिर्ता गर्ने कुरा समेटेको बताइन्छ । तर युक्रेनको शान्ति सूत्रलाई इन्कार गर्दै आएको रुसलाई भने यस शिखर सम्मेलनमा बोलाइएको छैन ।
यसैबीच युक्रेन युद्धमा तटस्थ बसेका भारत र ब्राजिलसँग पनि संवादको पहुँच पुर्याउने अवसरको रुपमा यो सम्मेलन युक्रेनका लागि महत्वपूर्ण रहेको बताइन्छ । साथै रुसको सहयोगी रहेको चीनको उपस्थितिलाई विशेष महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्