
काठमाडौं, भदौ २३ । भारतीय संचारमाध्यममा एकाएक नेपालसम्बन्धी समाचार छाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल दिल्ली भ्रमणमै रहेको समय भारतीय सञ्चारमाध्यमले उनको भ्रमणलाई भन्दा पनि नेपाल–चीन सम्बन्धमा देखिएको प्रगाढतालाई मुख्य विषय बनाएर समाचार प्रकाशन गरेका हुन् ।
उनीहरुले हालै नेपाल र चीनबीच भएको सहमतिलाई आधार मान्दै नेपालको झुकाव चीनतर्फ बढ्न थालेको समाचार प्रकाशन गरेका छन् । चीनले आफ्ना बन्दरगाह नेपाललाई प्रयोग गर्न दिने सम्बन्धमा जनाएको सहमतिलाई भारतीय मिडियाले नेपाल–भारतबीच देखिएको दुरी र नेपाल–चीनबीच बढ्न थालेको निकटताका रुपमा व्याख्या गरेका हुन् ।
यो घटनाक्रम तीन वर्ष अघि नेपालमा भएको मधेस आन्दोलन र त्यस क्रममा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीका कारण विकसित हुँदै गएको भारतीय संचारमाध्यमको विश्लेषण छ ।
भारतीय टेलिभिजन च्यानल ‘एनडिटिभी’ को अनलाइन संस्करण प्रकाशित समाचारअनुसार चीनले नेपाललाई आफ्ना समुद्री बन्दरगाह र सुखा बन्दरगाह प्रयोगका लागि अनुमति दिएर अन्तर्राष्ट्रिय व्यापारका दृष्टिले भूपरिवेष्ठित नेपाललाई भारतमाथिको व्यापारिक निर्भरता हटाउने चाल चलेको दावी गरेको छ ।
तेस्रो मुलुकसँग कारोबारका लागि भारतीय बन्दरगाहमा पूर्ण रुपले निर्भर नेपालले चीनको यस्तो सहमतिपछि चिनियाँ मार्गसमेत पाउने भएको विषयलाई उसले समाचारमा समेटेको छ । सन् २०१५ मा भएको मधेस आन्दोलन र भारतीय नाकाबन्दी स्मरण गर्दै उसले लेखेको छ, ‘मधेसी आन्दोलनले नेपाललाई चीनसँग व्यापारिक सम्बन्ध विकास गर्न र भारतमाथिको आफ्नो दीर्घकालिन निर्भरता घटाउन बाध्य तुल्याएको थियो ।’
त्यसैगरी आजतक टेलिभिजन च्यानलको अनलाइन संस्करणमा पनि ‘भारतविरुद्ध चीनको नयाँ चाल’ शीर्षकमा रिपोर्ट प्रकाशित गरिएको छ । ‘भारतलाई अलग–थलग गर्नका लागि चीनले नेपाललाई लोभ्याउने काम सुरु गरेको छ,’ उसले उक्त रिपोर्टमा लेखेको छ, ‘यसै क्रममा चीनले नेपाललाई आफ्ना चार बन्दरगाह प्रयोगका लागि अनुमति दिने भएको छ, भारतको एकाधिकार समाप्त पार्नका लागि नेपालले बेइजिङसँग आफ्नो निकटता बढाएको मानिएको छ ।’
अहिले वस्तु तथा इन्धनका लागि नेपाल निकै हदसम्म भारतमा निर्भर रहेको उल्लेख गर्दै समाचारमा भनिएको छ, ‘अन्य मुलुकसँग व्यापारका लागि नेपालले भारतीय बन्दरगाहको प्रयोग गर्दछ, तर व्यापारिक गतिविधिका बारेमा नेपाल जसरी चीनको निकट गइरहेको छ, त्यसबाट भारतसँगको उसको सम्बन्धमा तिक्तता आउने आशंका व्यक्त गरिएको छ ।’
‘आजतक’ले पनि सन् २०१५ को मधेस आन्दोलन र नाकाबन्दीलाई स्मरण गर्दै लेखेको छ, ‘भारतले कयौं महिनासम्म नेपाललाई इन्धन आपूर्ति रोकिदिएको थियो, त्यसैले नेपाल–भारत सम्बन्धमा तिक्तता आएको थियो ।’
दैनिक जागरण अखबारले पनि नेपाल–चीन सहमतिलाई आधार बनाउँदै उक्त सहमतिको पृष्ठभूमि मधेस आन्दोलन र नाकाबन्दीबाटै निर्माण भएको जिकिर गरेको छ । उसले लेखेको छ, ‘सन् २०१५ मा मधेस आन्दोलन भएको थियो, त्यस क्रममा नेपालमा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको थियो, मानिसले निकै कष्ठ झेल्नु परेको थियो । यसपछि नै नेपालले भारतमाथिको निर्भरता कम गर्नेतर्फ सोच्न थालेको हो ।’
त्यस्तै भारतको प्रख्यात अखबार नवभारत टाइम्सले पनि चीनद्वारा नेपाललाई बन्दरगाह उपलब्ध गराउन सहमति जनाइएको विषयलाई भारतसँग नेपालको परनिर्भरता हटाउने प्रयासका रुपमा व्याख्या गरेको छ ।
उसले पनि सन् २०१५ मा भएको नाकाबन्दीलाई स्मरण गर्दै त्यतिबेला नेपालमा दैनिक उपभोग्य वस्तुको हाहाकार भएका कारण नेपालले भारतमाथिको परनिर्भरता हटाउनेबारे सोच्न थालेको उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्