काठमाडाैं । नेपाल चामल, तेल, दाल उद्योग संघको अध्यक्ष कुमुदकुमार दुगडले नेपाल सरकारले भारत सरकारसँग धान खरिद गर्नसके चामल प्रतिवन्धको असर नपर्ने बताउनुभएको छ ।
संघका अध्यक्ष दुगडले भारतले चामल निकासीमा प्रतिवन्ध लगाएपनि नेपालमा धान निर्यात खुला रहेकाले नेपाल सरकारले भारत सरकारसँग पहल गरी धान खरिद गर्नसके चामल प्रतिबन्दको असर नपर्ने बताउनुभएको हो ।
अध्यक्ष दुगडले भारतले नेपाल मात्रै नभएर विश्वभर चामल निकासी प्रतिवन्ध लगाएकाले त्यसको असर नेपालमा पनि पर्ने बताउनुभयो ।उहाँले चामल आयातको प्रतिवन्धले पर्ने असर कम गर्न सरकारले भारत सरकारसँग १० लाख टन धान माग तत्काल गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाल चामल, तेल, दाल उद्योग संघले सरकारसँग १० लाख टन धान आयात गर्न माग गर्ने बताउनु भयो । उहाँले सरकारले तत्काल १० लाख टन धान आयातका लागि पहल नगरे नेपालमा असर पर्ने बताउनु भयो। उहाँले भारतसँगको वार्षिक ६ लाख मेट्रिक टनसम्म धानमा कर छुट कोटामा आयात हुने कोटा सकिएकाले थप समस्या हुनसक्ने बताउनुभयो ।
मंगलबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष दुगडले नेपालको नयाँ धान नोभेम्बरमा आउने तर त्यो भन्दा पहिला नेपालीहरुको महान पर्व दशैँतिहार आउने भएकाले थप चुनौतिपूर्ण अवस्था देखिएको बताउनुभयो। उहाँले भारतले चामल निकासी प्रतिवन्ध लगाए पनि नेपाललाई धान आयातमा फाईदा रहेको उल्लेख गर्नुभयो । उहाँले खुला सिमानाको कारण अन्य बाटोबाट चामल आउनसक्ने बताउनु भयो। उहाँले सरकारले सबै विषय वस्तुलाई हेरेर निर्णय लिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले नेपालमा उत्पादन क्षमता ठूलो रहेकाले भारतबाट धान आयात गर्नसके चामल उत्पादन गरेर नेपालको खपतलाई परिपूर्ति गर्न सकिने बताउनु भयो। उहाँले भारतले सन् २०२२ को सेप्टेम्बरदेखि धान चामलको निर्यातमा २० प्रतिशत कर लगाउन शुरू गरेको बताउनु भयो। उहाँले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा करिव साढे ५ लाख टन अर्थात ४७ अर्ब ५९ करोड रुपैयाँको धानचामल आयात भएको र ६ लाख टन धान आयात भएको बताउनुभयो ।
उहाँले भारतले चामलमा २० प्रतिशत कर लगाएपछि चामलको आयात ३ लाख कम हुँदा धानको आवश्यकता बढी भएको बताउनु भयो । भारतले बासमती बाहेकका चामलको निर्यातलाई साउन ४ बाट लागू हुनेगरी रोक लगाएको छ। खाद्यान्नको बढ्दो मूल्यलाई नियन्त्रणको प्रयासस्वरूप भारतले चामल निर्यातमा प्रतिवन्ध घोषणा गरेको हो ।
दक्षिणी छिमेकी भारतले चामल निर्यातमा लगाएको प्रतिवन्धको सोझो र गहिरो असर नेपालमा पर्नेछ । नेपालमा आवश्यक धानचामलको करिव २१ प्रतिशत भारतबाट आयात हुने गरेको संघले जनाएको छ । सरकारले हरेक दिन कम्तीमा १० करोड मूल्यको धानचामल आयात गर्दै आएको छ । गत आर्थिक वर्ष २०७९/८० को जेठ मसान्त सम्ममा ३३ अर्ब ६३ करोड रुपैयाँको धानचामल आयात भएको छ ।
त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ५९ करोड रुपैयाँको धानचामल आयात भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा भने नेपालले तीन खर्ब ४१ अर्ब रुपैयाँको कृषि वस्तु आयात गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्