
नयाँ दिल्ली, भदौ २३ । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीको कैलाश मानसरोवर यात्राबारे पाइला–पाइलाको हिसाब सार्वजनिक गरिएको छ । भारतीय राष्ट्रिय कांग्रेसको आधिकारिक ट्विटर ह्यान्डलबाट राहुल गान्धीको कैलाश मानसरोवर यात्राको विवरण सार्वजनिक गरिएको हो ।
गान्धी काठमाडौं हुँदै तिब्बत पुगेर मानसरोवर यात्रामा निस्किएका हुन् । भारतमा कतिपयले गान्धीको यो यात्रालाई चीनसँग उनको निकटताका रुपमा व्याख्या गरेका छन् । उनी काठमाडौंबाट विमानमा तिब्बत पुगेर चिनियाँ हेलिकोप्टर प्रयोग गरी मानसरोवर पुगेको दावी गर्नेहरु पनि कम छैनन् । कतिपयले उनको यो यात्रालाई हिन्दु मतदाता लोभ्याउन तयार पारिएको एक नाटक पनि भनिरहेका छन् ।
उनको यात्राबारे यस्ता अनेक चर्चा र टिप्पणी हुन थालेपछि भारतीय राष्ट्रिय कांग्रेस पार्टीले गान्धीको यात्रासम्बन्धी विवरण सार्वजनिक गरेको हो । गान्धी सो पार्टीका अध्यक्षसमेत हुन् ।
भारतीय राष्ट्रिय कांग्रेस पार्टीले कैलाश पर्वतको पृष्ठभूमिसहितको गान्धीको तस्वीर पनि ट्विट गरेको छ । साथै ‘फिटबिट एप’ मार्फत संग्रहित तथ्यांकको ‘स्क्रिन सट’ पनि ट्विटरमार्फत सार्वजनिक गरिएको छ । जसमा गान्धीले ४६३ मिनेटमा ३४.३१ किलोमिटर पैदल हिँडेको तथ्यांक राखिएको छ । उनले कुल ४६ हजार ४३३ कदम पैदल हिँडेको डाटा पनि उल्लेख छ ।
यतिले पनि विवाद साम्य भएको छैन । ट्टिरमा कतिपयले गान्धीको तस्वीरमा ‘फोटोशप’ बाट सम्पादन गरिएको र आफ्नो अनुकुल देखाइएको आरोप लगाएका छन् । उनीहरुले राहुल गान्धीकै ट्विटर ह्यान्डलबाट देखाइएको कैलाश पवर्तको तस्वीर र भारतीय राष्ट्रिय कांग्रेसले ट्विटरमार्फत सार्वजनिक गरेको तस्वीरमा देखिएका विभिन्न अन्तरबारे पनि प्रश्न उठाएका छन् ।
यसअघि उनी काठमाडौंमा रहँदा मांसाहारी खाना खाएको भन्नेबारे समेत भारतीय मिडियामा समाचार प्रकाशित भएका थिए ।
हिन्दुवादी भनेर चिनिएको भारतीय जनता पार्टीसँग आगामी निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसले कडा टक्कर दिनकै लागि हिन्दु धर्मावलम्बीको विश्वास जित्नका लागि राहुल गान्धीले कैलाश मानसरोवर यात्राको ‘प्रोपोगाण्डा’ रचेको आरोप लगाउनेहरु पनि प्रशस्त छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्