काठमाडौं, भदौ २२ । नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने भएको छ ।
नेपाल र चीनबीच भएको ‘प्रोटोकल’सम्बन्धी बैठकले पारवहन तथा यातायात सम्झौताको कार्यविधिलाई अन्तिमरुप दिँदै चीनका सबै बन्दरगाह नेपालले प्रयोग गर्न पाउने समझदारी गरेको हो ।
योसँगै नेपालबाट तेस्रो मुलुकमा हुने व्यापारका लागि भारतीय बन्दरगाहमात्रै प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य हुने बताइएको छ ।
यो सहमतिलाई सकारात्मकरुपमा लिइएपनि तत्काल व्यापारको क्षेत्रमा खासै उपलब्धि हासिल नहुने जानकार बताउँछन् ।
अर्थविद् डा. पोषराज पाण्डेले तत्कालका लागि यो रणनीतिक सहमतिमात्र भएको बताउँछन् ।
यो सहमतिले ३२ अर्ब रुपैयाँको निर्यात र २७५ अर्बको आयातलाईमात्रै सहजीकरण गर्ने उनको भनाइ छ ।
यता, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल पनि सहमति स्वागतयोग्य भएपनि व्यवहारिकता हेर्न बाँकी रहेको बताउँछन् ।
यसले भारतीय बन्दरगाहमा समस्या हुँदा वैकल्पिक मार्गकारुपमा यसको प्रयोग गर्न सकिने उनको भनाइ छ ।
चीनले चारओटा समुद्री र तीन सुक्खा बन्दरगाह प्रयोग गर्न दिने सहमति गरेको छ ।
सहमतिले चीनको भूमि हुँदै जापान, कोरियालगायतका तेस्रो मुलुकबाट वस्तु आयात गर्न र तेस्रो मुलुकबाट वस्तु निर्यात गर्न पारवहनमार्ग खुला भएको जनाइएको छ ।
हाललाई नेपालले नियान्जेन, सेनजेन, लियानयुगाङ र झाङजियाङ गरी चारओटा सामुद्रिक बन्दरगाह प्रयोग गर्नसक्ने सहमति भएको छ ।
सुक्खा बन्दरगाहतर्फ आन्जाओ, ल्हासा र सिगात्से तोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
पारवहन ढुवानीका लागि नेपालतर्फ रसुवा, कोदारी, किमाथांका, नेचुङ, यारी र ओलाङचुङगोला प्रयोग गर्ने सहमति भएको छ ।
नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म ढुवानीका लागि आउजाउ गर्नसक्ने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्