२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025


स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छ : मन्त्री ज्वाला


169
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान गर्ने बताउनुभएको छ ।

आईतबार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लाइसेन्स स्मार्टकार्डको समस्या चाँडै समाधान गर्ने र मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभयो ।

मन्त्री ज्वालाले यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको बताउनुभयो । उहाँले इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा पनि बेवास्ता गर्नु नहुने बताउनु भयो । उहाँले यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको बताउनुभयो ।

उहाँले सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको सुरुवात हुनु महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले चालक, सहचालकहरुले राम्रो व्यवहार र बोलीले नै यात्रुहरु खुशी हुने भन्दै यस अभियानले यात्रुमैत्री सार्वजनिक यातायात हुने अपेक्षा लिएको बताउनुभयो ।

मन्त्री ज्वालाले चालक, सहचालकहरुको बोलीका कारण पनि कतिपय यात्रुहरुले झमेला व्यहोर्नुपरेको भन्दै यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।