
काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि भारत ए र पाकिस्तान ए फाइनलमा प्रवेश गरेको छ ।
पाकिस्तान ए ले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका ए लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनायो । ३ सय २३ रनको लक्ष्य पछ्याएको श्रीलंका ४५.४ ओभरमा २ सय ६२ रनमा समेटियो ।
श्रीलंकाका दुई जना ब्याट्सम्यान शतक नजिक पुगेपनि टोलीको हार टार्न असफल भए । श्रीलंकाका लागि अविस्का फर्नान्डो र सहन अराचचिजले समान ९७ रन बनाएका थिए । पाकिस्तानका अर्सद इकबालले ५ तथा मुबासिर र सुफियान मुकिमले २–२ विकेट लिए ।
दोस्रो सेमिफाइनल खेलमा भारतले बंगलादेश ए लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको बंगलादेश ३४ ओभर २ बलमा १ सय ६० रनमै अलआउट भयो ।
बंगलादेशका तन्जिद हसनले सर्वाधिक ५१ रन बनाए । बलिङतर्फ भारतका निशान्त सिन्धुले ५ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको भारत ४९ ओभर १ बलमा २ सय ११ रन बनाउँदा अलआउट भएको थियो ।
उपाधिका लागि भारत र पाकिस्तानबीचको फाइनल खेल आइतबार हुनेछ । समूह चरणको खेलमा भने भारतले पाकिस्तानलाई पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्