
दीपक श्रेष्ठ/सुयेश मानन्धर (इमेज)
काठमाडौं, भदौ २२ । महानगरीय प्रहरी परिसर काठमाडौंले गुन्डागर्दी गरेर समाजमा आतंक फैलाउनेहरुमाथि निगरानी बढाएको दाबी गरेको छ ।
गुन्डागर्दी गर्नेहरुको सूक्ष्म अध्ययन गरी वर्गीकरणसमेत गरेको र गुन्डागर्दीविरुद्ध विशेष अभियान चलाउने पनि प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंकाअनुसार काठमाडौंमामात्र १५० भन्दा बढी ‘गुन्डा’हरु सक्रिय रहेका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रमुख वसन्त लामा ती गुन्डाहरुले राजधानीका विभिन्न स्थान विशेषलाई अखडा बनाएर अपराध गर्ने गरेको बताउँछन् ।
गुन्डाहरुको विवरण संकलन गर्ने काम भइरहेको र उनीहरुको अपराधशैलीलाई सूक्ष्म अध्ययन गरी वर्गीकरण गरिएको पनि उनले बताए ।
प्रहरीको सूचीमा रहेका कतिपय गुन्डाहरु पक्राउ परिसकेको र केही आपराधिक क्रियाकलापबाट टाढा हुन खोजेको प्रहरीको दाबी छ ।
प्रहरीको खोजी सूचीमा रहेका ‘गुन्डानाइके’हरुमध्ये सत्यमान लामा केही दिनअघि पक्राउ परिसकेको भन्दै एसएसपी लामाले सूचीमा रहेका अन्य गुन्डाहरुको पनि खोजी भइरहेको बताए ।
गुन्डानाइकेहरुले राजनीतिक शक्तिकेन्द्रको आडमा आफूलाई जोगाउने गरेका छन् ।
तर, एसएसपी लामा प्रमाणसहित पक्राउपर्ने गुन्डाहरुलाई कसैको दबाबमा छुटकारा नदिने दाबी गर्छन् ।
काठमाडौं प्रहरी परिसरको नेतृत्वमा आउने हरेक प्रहरी अधिकृतले गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकता दिने गर्दछन् ।
तर, गुन्डागर्दी, लुटपाट, ठगी नियन्त्रण भएको महसुस सर्वसाधारणले कहिल्यै गर्न भने पाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्