२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


वर्षासँगै तराईमा सर्पदंशका बिरामी बढे, बालबालिका र ज्येष्ठ नागरिक उच्च जोखिममा


234
Shares

सुशील गैरे

कपिलवस्तु । वर्षायाम सुरु भएपछि तराईका जिल्लामा सर्पदंशका बिरामीहरु बढ्न थालेका छन् । बिरामी बढेसँगै कपिलवस्तुको सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा बिरामीहरुको चाँप बढ्न थालेको छ भने तराईमा सर्पदंशको भय पनि बढ्दै गएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ नम्बर वडाको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको संख्या बढ्न थालेको छ । जेठ र असारमा मात्र २ सय ५० बढीको उपचार गरेको सर्पदंश उपचार केन्द्रले जनाएको छ ।

विशेषगरि गर्मि र वर्षाको समय सुरु भएसँगै सर्पहरु जमिन भित्रको तापमान सहन नसकेर बाहिरी सतहमा आउने गर्दछन्। सर्पहरु सुरक्षित स्थान तर्फ जाने क्रममा मानिस लगायत अन्य जनावरलाई पनि डस्ने गर्दछन् । यो सिजनमा सर्पले टोकेर उपचार गर्न आउने बिरामीको संख्या पनि ह्वातै बढ्ने गरेको छ ।

आर्थिक वर्ष ७८/७९ मा ६ सय २२ जनालाई टोकेको थियो भने ७९/८० मा ८ सय बढी विरामीले उपचार गराई सकेका छन् । यस उपचार केन्द्रमा वैशाख जेठ असार साउन र भदौ महिनामा बढी मात्रामा सर्पदंशका विरामी आउने गरेका छन्। जुन सर्प दंशमा कपिलवस्तु सहित विभिन्न जिल्लाका विरामी आउने गरेका छन् ।

शम्सेर दल गण गोरुसिङ्गेको प्राविधिक सहयोग र बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा सर्पदंश उपचार केन्द्र संचालनमा रहेको छ। यता बुद्धभूमि नगरपालिकाले सर्पले टोकेका कुनै पनि विरामीको अकालमै ज्यान जान नपरोस भनेर वर्षेनी आर्थिक सहायोग गर्दै आएको छ। जसका कारण पनि उपचारकालागि आउने सर्पदंशका बिरामीलाई धेरै सहज भएको छ ।

यो अस्पताल सञ्चालनमा आएसँगै १२ हजार बढीले उपचार पाई सकेका छन्। यो बेला बढि मात्रामा सर्प देखिनेर टोक्ने भएकाले रातिमा बाहिर निस्कदा र घरमा पनि विशेष ख्याल गर्नु पर्ने चिकित्सकहरुले बताएका छन् । सर्पले टोकेपछि आतिनु हुँदैन र जति सक्दो छिटो अपस्ताल पुर्‍याउनु पर्छ । समयमै उपचार गर्न सके यसबाट जोगिन सकिन्छ ।