Logo १५ कार्तिक २०८२, शनिबार | Sun Nov 2 2025


विद्युतीय चुरोट मार्फत सुन तस्करीमा मुछिएका पाँच जना जेल चलान


15k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीको घटनामा मुछिएका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पक्राउ परेका ६ जना मध्ये ५ जनालाई जेल पठाएको हो ।

पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा २७ वर्षीय रेवन्त खड्का, कागेश्वरी मनहरा–९ का ३२ वर्षीय दिनेश बस्नेत, काठमाडौं भोटेबहाल बस्ने वेदप्रकाश अग्रवाल, भारतीय नागरिक ३९ वर्षीय साहेब राव पाण्डुरङ मरग, काठमाडौंको र पोखरा गैह्रीटापाटन बस्ने २२ वर्षीय निर्मलकुमार रहेका छन् । काठमाडौं शान्तिनगर बस्ने ३२ वर्षीय अमृत कार्कीलाई भने अदालतले रिहा गरेको छ ।

सो प्रकरणमा जोडिएका सिन्धुपाल्चोक घर भई कागेश्वर मनोहरा–९ बस्ने २९ वर्षीय दिपेश बस्नेत, ४२ वर्षीय गोपाल सुवेदी र काभ्रेको बनेपा–१० घर भई थापागाउँ बस्ने ५५ वर्षीय रामकेशव थापा भने फरार रहेका छन् ।

चिनियाँले दुबई हुदै ल्याएको विद्युतीय चुरोट शंकास्पद लागि भन्सार कार्यालयले जफत गरी छानविनका लागि थन्क्याएको चुरोट साटफेर गरेर यो गिरोहले करीब नौ किलो सुन बेचविखन गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको यो घटनाका मूख्य पात्र चिनियाँ नागरिक भने पहिल्यै नेपालबाट भागिसकेको खुलासा भएको छ ।

साथै यस प्रकरणमा पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा पनि संलग्न रहेको पाइएको प्रहरीको ठहर छ । तर, महराका बाउछोरामाथि भने छानविन भएको छैन ।