
प्योङयाङ, असार ५ । उत्तर कोरियाली शासक किम जोङ उन दुई दिने भ्रमणका लागि चीन जाँदैछन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको सिंगापुरमा सम्पन्न ऐतिहासिक शिखर वार्ताको एक हप्तापछि किम चीन भ्रमणमा निस्कनु लागेका हुन् ।
चिनियाँ नेताहरुसँग किमले उत्तर कोरियामाथिको प्रतिबन्ध, शिखर वार्तामा कोरियाली प्रायद्वीपको परमाणु निःशस्त्रीकरणका विषय आफुले गरेको प्रतिबद्धताका विषयमा छलफल गर्ने अनुमान गरिएको छ ।
उत्तर कोरियाको एकमात्र आर्थिक साझेदार बेइजिङले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध खुकुलो पार्न सुझाव दिइसकेको छ । गत मार्च यता किम तेस्रो पटक चीन भ्रमण गर्दैछन् ।
यसैबीच अमेरिका र दक्षिण कोरियाले अर्को महिना गर्ने संयुक्त सैन्य अभ्यास स्थगित गरेको पुष्टि गरेका छन् । सिंगापुर वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँगको सैन्य अभ्यास रोक्ने बताएका थिए । उत्तर कोरियाले सैन्य अभ्यास आफूविरुद्ध लक्षित बताउँदै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्