Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


महिला-महिलाबीच प्रतिस्पर्धा हुनेगरी निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्छ : महिला सांसद


78
Shares

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले महिला-महिलाबीच प्रतिस्पर्धा हुनेगरी निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिएका छन् ।

मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै कांग्रेस सांसद सरस्वती बजिमय, नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजाललगायतका सांसदले महिला, दलित, जनजाति, खस–आर्य सबैलाई जनसंख्याको आधारमा प्रतिनिधित्व हुनेगरी निर्वाचन क्षेत्र निर्धारणका लागि कानूनी व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

एमाले सांसद रिजालले समानुपातिक निर्वाचन प्रणालीनै खारेज गर्नुपर्ने प्रस्ताव गर्नुभयो । समानुपातिक निर्वाचन प्रणालीले महिला, दलित, जनजातिलगायतको प्रतिस्पर्धा गर्ने क्षमतामा समेत ह्रास ल्याएकाले सो प्रणालीनै खारेज गर्नुपर्ने बताउनुभयो ।

कांग्रेसकी सांसद सरस्वती बजिमयले स्थानीय तहदेखि नै महिलाहरुलाई जनसंख्याको आधारमा निर्वाचित हुने व्यवस्था गर्न महिला–महिलाबीच प्रतिस्पर्धा हुने गरी निर्वाचन क्षेत्र निर्धारण गर्न उपयुक्त हुने बताउनुभयो । उहाँले राम्रो काम गर्न पनि महिलालाई बढि भन्दा बढि निर्वाचित हुने वातावरण बनाउने गरी कानुन निर्माण गर्नुपर्ने तर्क गर्नुभयो । अर्की सांसद शोभा ज्ञवालीले पनि विद्यमान निर्वाचन प्रणालीले महिलाहरुको प्रतिनिधित्व घटाउने खतरा बढदै गएको उल्लेख गर्दै यसतर्फ सम्बन्धित पक्ष सचेत हुनुपर्ने बताउनुभयो ।

बैठकमा पूर्वसांसद विन्दा पाण्डेले भने महिलाहरुले पनि पुरुष सरह निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गरिसकेको दाबी गर्नुभएको थियो ।