
काठमाडौं । पछिल्लो समय आत्महत्याका घटना बढेकोप्रति नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिन्ता व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन भने त्यो राजनीतिको के अर्थ भन्दै प्रश्न समेत गर्नुभएको छ। उहाँले एक पछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको बताउनु भएको छ ।
‘आखिर हामी कहाँ चुक्यौँ ? हाम्रो समाज कहाँ चुक्यो ? किन हरेक वर्ष आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ ? हामीले यतिका वर्ष देखि कसका लागि सङ्घर्ष गर्यौँ ? हामीले गरेको राजनीतिले, युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ ? खै हामीले समाजको आवश्यकता बुझेको ? हामीले गर्ने राजनीति जनताको लागि हो। उहाँहरूको जीवन भौतिक विकास बाहेक अरू पनि थुप्रै विषयसँग जोडिएको छ भनेर बुझ्न अझै कति समय लाग्ने हो ? भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ ।’
उहाँले थप्दै लेख्नुभएको छ, ‘अब पनि हामीले ठोस कदम नचाल्ने हो भने, हामीले भविष्यमा धेरै मानिका र सरोनहरूलाई गुमाउने छौँ। हामीले त्यो अवस्था कदापि आउन दिनु हुन्न । यसमा तपाई हामी सबैको भूमिका रहन्छ। अब मानसिक स्वास्थ्य सम्बन्धि चेतना, परामर्श र उपचार स्थानीय निकाय बाट हुने गरी सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माण गरौँ।’

प्रतिक्रिया दिनुहोस्