१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024


कर गरिबका लागि होइन, हुनेखानेका लागि हो : अर्थमन्त्री महत


663
Shares

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरिएको बताउनुभएको छ ।

आइतवार प्रतिनिधि सभामा छलफलको लागि पेस भएको आर्थिक विधेयक, २०८०’मा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले यस्तो बताउनुभएको हो । मन्त्री महतले सांसदहरुले सरकारले ल्याएको बजेट र कर वृद्धि गरिबमैत्री नभएको बताएपनि सरकारले गरिबीको पक्षमा बजेटमा करको व्यवस्था गरेको बताउनु भयो । मन्त्री महतले सरकारले आवश्यकता र विभिन्न देशमा व्यवस्था भएबमोजिम आवश्यकता देखेर हवाई भाडा तथा लक्जरी करको व्यवस्था गरिएको बताउनु भयो ।

उहाँले मुलुक भित्र हुने खाने हैसियत बनाएको वर्गलाई लक्षित गरेर केही वस्तु तथा सेवामा कर लगाइएको जिकिर गर्नुभयो । उहाँले सरकारले व्यवस्था गरेको करले गरिब जनतालाई नछुने बताउनु भयो । मन्त्री महतले न्युन आय हुने वर्गले प्रयोग गर्ने वस्तु तथा सेवामा सरकारले कर नबढाएको दाबी गर्नुभयो। उहाँले सरकारले ल्याएको बजेट र आर्थिक विधेयक गरिबको पक्षमा नभएको सांसदहरुले भने पनि बजेट सन्तुलन कायम भएर आएको बताउनु भयो ।

उहाँले सरकारले हैसियत हेरेर विलासिताका वस्तुमा कर लगाएको बताउनु भयो । उहाँले विलासिता कर पाँच तारे होटल वा सो स्तरको रिसोर्ट, १० लाख भन्दा बढी हिरामोती खरिद गर्ने र ५० लाख भन्दा बढी आम्दानी गर्नेको लागि कर बढाइएको भन्दै यो व्यवस्थाले गरिबलाई नछुने बताउनु भयो ।

अर्थमन्त्री महतले सरकारले आलु प्याजमा कर मुलुकभित्रै उत्पादन वृद्धि गरी साना–साना किसानहरुलाई प्रोत्साहन दिने उद्देश्यले लगाएको बताउनु भयो । उहाँले नेपालका साना किसानहरु नै गरिब भएको भन्दै उनीहरुको उत्पादनले बजार पाउनुपर्ने बताउनु भयो । उहाँले कृषि उत्पादन क्षेत्रका विचौलियाको चलखेल तोड्नको लागि सम्पूर्ण राज्य संयन्त्र क्रियाशिल हुन आवश्यक रहेको बताउनु भयो ।