२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


संसद बैठकमा कुन सांसदले के भने ?


273
Shares

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरुले देशको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद भानुभक्त जोशीले शिक्षकहरुको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । जोशीले २०४९ सालदेखि अहिलेसम्म काम गरिरहेका माध्यामिक तह(तत्कालिन उच्चमावि) का शिक्षकहरुको बारेमा सरकारले केही पनि व्यवस्था नगरेको भन्दै उनीहरुको उचित व्यवस्थापन गर्न माग गर्नुभयो ।

सांसद महेशकुमार बर्तौलाले देशका विभिन्न स्थानीय तहका स्वास्थ्यकर्मीहरुले महिनौँदेखि तलव पाउन नसकेका भन्दै उनीहरुलाई तलवको सुनिश्चितता गर्न माग गर्नुभयो ।

त्यसैगरी सांसद माधव सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदको यहि अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले संघीय निजामती कर्मचारी सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी समायोजन ऐन जस्ता महत्वपूर्ण ऐनहरुलाई पनि यसै अधिवेशनमा पारित गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद मेनकाकुमारी पोखरेलले किसानहरुले मल पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले बिचौलिया र सहकारीहरुले किसानलाई मल नदिने गरेको भन्दै उनीहरुलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद रघुजी पन्तले विद्युतको अनियमितता हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

यसैगरी सांसद रणकुमारी बलम्पाकी मगरले अनलाइनमार्फत घर–घरमा पासपोर्ट पुर्‍याउने व्यवस्था गर्न माग गर्नुभयो ।सांसद रणेन्द्र बरालीले गायक प्रकाश सपुतमाथि रोमनियामा बोतल प्रहार गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य रमा कोईराला पौडेलले जुम्ला हिमा गाउँपालिकाका मायालाल परियारको मलेसियामा निधन भएको भन्दै उहाँको बीमा लगायतको सुविधासहित पार्थिव शरिर नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद रञ्जुकुमारी झाले मनशुनबाट हुने क्षतिबाट बच्न पूर्वतयारीमा रहन सरकारको ध्यानाकर्षण गराउनुभयो ।प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसीले ललिता निवास जग्गा प्रकरणमा संलग्न ठूलाहरुलाई समात्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले ललिता निवास जग्गा प्रकरणका आरोपित सबैलाई पक्रन सरकारसँग माग गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य रोशन कार्कीले दाइजो पीडितहरुको उजुरी हेर्न र दोषिउपर कारबाही गर्न गृह मन्त्रालयमा हेल्पलाइन डेस्क राख्न माग गर्नुभयो । उहाँले उजुरीहरुमाथि फास्टट्रयाकबाट कारबाही गर्नुपर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठले कृषकहरुलाई मलखादको अभाव भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले वर्षायाम्मा तराईमा बाढी आउनेतर्फ सचेत हुँदै सुरक्षाका लागि चाहिने सामग्रीहरुको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद लेखनाथ दाहालले सरकारले जग्गाको कित्ताकाट रोकिएको अवधिमा भूमाफिया र जग्गा दलालमार्फत् जग्गाको कित्ताकाट भएको भन्दै सो उपर छानविन गरी दोषिउपर कारबाही गर्न माग गर्नुभयो ।