२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


प्रमुख खाद्यान्न बालिको सिजन पूर्वनै समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको छ : प्रधानमन्त्री


78
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि उपजमा उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले कृषकले न्युन मूल्य पाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रमुख खाद्यान्न बालिको सिजन पूर्व नै समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताउनुभएको हो । उहाँले उखु उत्पादक कृषकहरुलाई ७० रुपैयाँ प्रति क्विन्टलको हिसावले अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

उहाँले आधुनिक कृषि बजार पूर्वाधारहरुको विकास तथा व्यवसायीहरुसँगको सहकार्यमा खरिद सुनिश्चित गर्नेगरी कार्यक्रम सञ्चालित भएको बताउनु भयो । त्यसैगरी बजारको माग अनुसार नाशवान कृषि उपजको उत्पादन गर्न बजार सूचना प्रणाली स्थापना गरी कृषकहरुलाई सुुसुचित गर्ने कार्यक्रम बनाइएको पनि उहाँले बताउनु भयो ।

उहाँले बढी उत्पादन भएको कृषि उत्पादन कोल्डस्टोरमा राख्न सक्नेगरी पूर्वाधार विकासको काम अगाडी बढेको जानकारी गराउनु भयो । त्यस्तै कृषि उपजहरुको समर्थन मूल्य तोक्दै जाने उहाँको भनाई छ ।