Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


योग्यलाई मात्रै उच्च अदालतको न्यायाधीश नियुक्ति गर्न पूर्व न्यायाधीश फोरमको जोड


130
Shares

काठमाडौं । पूर्व न्यायाधीश फोरम नेपालले बहालवाला जिल्ला न्यायाधीशमध्ये योग्यलाई मात्र उच्च अदालतको न्यायाधीश नियुक्ति गर्नु पर्ने माग न्यायपरिषद्ले अविलम्ब पुरा गर्नुपर्नेमा जोड दिएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले लोक सेवा पास गरि न्याय सेवामा प्रवेश गरेका जिल्ला न्यायाधीशहरु उच्च अदालतमा जान योग्य भएपनि न्यायाधीश नियुक्तिको गलत मापदण्डको आधारमा न्यायसेवा इतर व्यक्तिलाई उच्च अदालतमा सिफरिस गर्ने प्रवृतिले जिल्ला न्यायाधीश हतोत्साहित हुने बताउनुभयो । पत्रकार सम्मेलनमा उच्च तथा सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद्मा व्यापक राजनीति हुने गरेको भन्दै न्यायाधीश सिफारिस गर्दा आग्रह पुर्वाग्रह राखि राम्रो भन्दा हाम्रो मान्छेलाई प्रश्रय दिने गरेको अध्यक्ष सिंहको भनाई छ ।

यस्तै फोरमले निर्वाचन आयोग अन्तर्गतको जिल्ला निर्वाचन कार्यलयलाई गृहमन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन कार्यालयको शाखाको रुपमा रुपान्तरण गर्ने विषयमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष सिंहले सरकारले आर्थिक व्ययभार घटाउने बाहनामा निर्वाचन कार्यलयलाई गृहमन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन कार्यालयमा गाभ्ने हो भने संविधानले परिकल्पना गरेका निर्वाचन निस्पक्षताको सिद्धान्त धुलीसात हुने बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशाशन कार्यलयको शाखाको रुपमा विस्तार गर्ने सरकारको निति तथा कार्यक्रम तत्काल सच्याउनुपर्ने पनि फोरमको माग छ ।