१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


पशुपतिमा चढाइएको जलहरीमा १० किलो सुन भएको पशुपति क्षेत्र विकास कोषको दाबी


31.694k
Shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० किलो नै सुन रहेको दाबी गरेको छ ।

मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य-सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिनुभएको हो ।

थापाले सो जलहरीमा १० किलो सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताउनुभयो । आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले दुःख व्यक्त गर्नुभयो । उहाँले आफ्ना दुई सन्तान रहेका र उनीहरुको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै राज्यको नीति यहीँ हो ? भनि प्रश्न समेत गर्नुभयो ।

सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दूरपयोग गरेर बाँच्नु नपर्ने पनि बताउनुभयो । उहाँले यो केशमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? भनि सांसदहरुसँग जिज्ञासा समेत राख्नुभयो ।

सदस्य सचिव थापाले सो जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन नगरी जथाभावी आरोप लगाउन नमिल्ने बताउनुभयो । त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उहाँको दाबी थियो । बैठकमा सांसदहरुले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए ।