२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024


आन्दोलन शिथिलमात्र भएको हो : पद्मरत्न


0
Shares

काठमाडौं, भदौ २० । वामपन्थी नेता तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरले आफूले मातृभाषाको माध्यमबाट शिक्षा दिन बारम्बार ध्यानाकर्षण गराएपनि आश्वासनबाहेक केही कार्यान्वयन नभएको बताएका छन् ।

७७ वर्षका तुलाधरले आफ्नो जंक्व (भीमरथारोहण)को अवसरमा आयोजित कार्यक्रममा दमन, थिचोमिचो सहेरै बस्ने तर आवाज उठाउने नसक्ने मानसिकताले आन्दोलन सकिएको भान भएको बताए ।

आफूहरुको आन्दोलन शिथिलमात्र भएको भन्दै उनले निराश नहुनसमेत आग्रह गरे ।

समतामूलक समाज निर्माणका लागि नयाँ पुस्तालाई बुझाउन आवश्यक रहेको पनि उनले बताए ।

साहित्यिक सिर्जनाकाबारेमा भने समयले जे लेखायो, आफूले त्यही लेखेको उनले उल्लेख गरे ।

पद्मरत्न तुलाधरको साहित्यिक व्यक्तित्वबारे विभिन्न व्यक्तिबाट चर्चा सुनेपछि उनले आवश्यकताअनुसार निबन्ध, कथा, संस्मरण, नाटक, उपन्यास, कविता, ख्यालःलगायतका विधामा कलम चलाएको बताए ।

पद्मरत्न नागरिक अभिनन्दन समारोह समितिअन्तर्गत् साहित्य समितिले बुधबार राजधानीमा आयोजना गरेको उक्त कार्यक्रममा कवि दुर्गालाल, प्रा. नर्मदेश्वर प्रधान, नेपालभाषा परिषदका अध्यक्ष प्रा. सुवर्ण शाक्य, भूषणप्रसाद श्रेष्ठ, डा. चुन्दा बज्राचार्य, नेपालभाषा ऐकेडमीका चान्सचल चित्तरञ्जन नेपाली, लक्ष्मीदास मानन्धरलगायतले आदिवासी जनजाति आन्दोलनका अध्यक्षसमेत रहेका तुलाधरको व्यक्तित्वकाबारेमा चर्चा गरेका थिए ।

कवि नारद बज्राचार्य, विराट नेपालभाषा साहित्य सम्मेलन गुथिका अध्यक्ष कृष्णभक्त बोडे, कवि प्रतिसरा सायमि, मां भाय् पुचःका अध्यक्ष हिरारत्न शाक्य, कवि राजभाई जकःमि, कवि सौरभ शाक्य, कथाकार मथुरा साय्मि, कवि सुधिर ख्ववि, कलाकार शरद कसाःलगायतले शान्ति–प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका तुलाधरको नेपालभाषामा विभिन्न साहित्यिक सिर्जना पाठ गरेका थिए ।

साहित्य समितिका संयोजका डा. पुष्पराज राजकर्णिकारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिभा समाजका उपाध्यक्ष डा. बज्रमुनी बज्राचार्यले स्वागत र पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिका संयोजक लक्ष्मीदास मानन्धरले धन्यवाद ज्ञापन गरेका थिए ।

तुलाधरको ७७ वर्ष ७ महिना ७ दिन ७ पलाको उमेरमा नेवार परम्परामा गरिएको जंकुको अवसरमा भाद्र महिनाभरि विभिन्न कार्यक्रम भइरहेको छ ।

पत्रकारिता क्षेत्र, नेपाल संवत् आन्दोलन, मानवअधिकारकर्मी, राजनीतिक जीवन, ४६ सालको जनआन्दोलन, शान्ति–प्रक्रियालगायतमा तुलाधरको योगदानबारे विभिन्न कार्यक्रममा चर्चा–परिचर्चा भएका छन् ।

आगामी शनिबार तुलाधरद्वारा रचित ख्यालः (हास्यव्यंग्य नाटक) मञ्चन गरिने कार्यक्रम रहेको छ भने भदौको अन्तिम शनिबार नागरिक अभिनन्दन कार्यक्रम रहेको छ । दुवै कार्यक्रम राष्ट्रियसभा गृहमा आयोजना हुने जनाइएको छ ।