Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


प्रधानमन्त्रीको भारत भ्रमण-लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषय उठ्ला ?

सीमा समस्याको एजेन्डा ओझेलमा

286
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको एजेन्डालाई ओझेलमा पार्नुभएको छ ।

नेपालको नक्सामा उल्लेखित लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत सीमा समस्या सल्ट्याउने विषयलाई प्रधानमन्त्री दाहालले प्राथमिकताबाहिर राख्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड बुधबार ८८ जनाको जम्बो टोली लिएर मित्रराष्ट्र भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

जेठ १७–२० चारदिवसीय भारत भ्रमणको एजेन्डामा लगानी, विद्युत् व्यापार, विकास आयोजना निर्माण र आपसी सम्बन्ध सुधारलाई प्रगाढ बनाउने भनिए पनि सीमा समस्याका विषयलाई प्राथमिकतामा नराखिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।

प्रधानमन्त्रीको भ्रमणमा नेपाललाई दुईतर्फी हवाई रुट थप, नेपाली कम्पनीसँग डिजिटल भुक्तानी, बंगलादेशसँग विद्युत् व्यापारको बाटो खुला गर्ने, तल्लो अरुण, पञ्चेश्वर, फुकोट कर्णाली जलविद्युत् विकास आयोजना, अमलेखगञ्ज–लोथर तथा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणका विषय एजेन्डामा समावेश गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।