Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


भ्रष्टाचार, विकृति र विसंगतिविरुद्धको लडाइँबाट पछि नहट्ने प्रधानमन्त्री दाहालको दाबी


91
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार, विकृति र विसंगतिविरुद्धको लडाइँमा जस्तोसुकै परिस्थिति आए आओस् भनेर हाम फालेको बताउनुभएको छ ।

पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन ‘इच्छुक’को २१औँ स्मृति दिवसका अवसरमा शनिबार प्रेस सेन्टर नेपालले साँखुमा गरेको १९औँ साधारणसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री दाहालले द्वन्द्वकालमाझैँ अहिले पनि युद्धमा होमिएको बताउनुभएको हो ।

यो अभियान नरोकिने बरु झन् चर्किने भन्दै उहाँले केही समयभित्र भ्रष्टाचारविरुद्ध ‘ठूल–ठूला एक्सन’ हुन लागेको दाबी गर्नुभएको छ । प्रधानमन्त्रीय दाहालले जनताले अब भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा आफूहरूलाई साथ दिने तर्क गर्नुभयो ।

प्रधानमन्त्री दाहालले संसदीय राजनीतिमा विचार र निष्ठाले भन्दा पनि संख्याले काम गर्ने बताउनुभयो । आफू प्रधानमन्त्री बनेदेखि नै असफल बनाउने तत्व पछि लागेको पनि उहाँको दाबी छ ।

आफूलाई अपमानित र घेराबन्दी गर्ने कसरत भइरहेको उहाँको भनाई थियो ।