Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


बर्ड फ्लू देखिएपछि ब्राजिलमा पशु स्वास्थ्य आपतकाल घोषणा


169
Shares

एजेन्सी । बर्ड फ्लू देखिएपछि ब्राजिलले पशु स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

दुई वटा राज्यमा जंगली चराहरूमा बर्ड फ्लू (एच फाइभ एन वन) का आठ वटा केस पुष्टि भएपछि सरकारले ६ महिना अर्थात् १ सय ८० दिनको आपतकाल घोषणा गरेको हो ।

राजधानी रियो दि जेनेरियोमा एक र छिमेकी राज्य एस्पिरिटो सान्तोमा ७ वटासहित जंगली चराहरूमा बर्ड फ्लु भाइरस पुष्टि भएको छ । भाइरस थप फैलिन नदिन पशु स्वास्थ्य आपतकाल घोषणा गरेको जनाइएको छ ।

त्यहाँको कृषि मन्त्रालयले बर्ड फ्लूको आवश्यक समन्वय, योजना र मूल्याङ्कन गर्न आपतकालीन सेन्टर पनि खडा गरेको समाचार संस्था अल जजिराले जनाएको छ ।

ब्राजिल विश्वको सबैभन्दा ठूलो कुखुराको मासु निर्यातक देश हो । हरेक वर्ष ब्राजिलले १० अर्ब डलरको कुखुराको मासु निर्यात गर्ने गर्छ ।