१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


विद्यावारिधि गर्ने पहिलो नेपाली अनागारिकाको पार्थिक शरीर धुलिखेल अस्पताललाई दान


2.353k
Shares

काठमाडौं । नेपालको बौद्ध इतिहासमा पहिलो पटक अनागारिका डा. अनोजा गुरुमाँको पार्थिव शरीर धुलिखेल अस्पताललाई हस्तान्तरण गरिएको छ ।

मरणोपरान्त आफनो अनित्य भौतिक शरिर दान दिने उहाँको इच्छा बमोजिम शुक्रबार सुलक्षणकीर्ति विहार, चोभारमा उहाँका परिवारका सदस्यहरुले सो अस्पताललाई शव हस्तान्तरण गर्नुभएको हो ।

यस अघि उहाँलाई बौद्ध परम्परा अनुसार परित्राण पाठ सहित नेपाल सरकारका तर्फबाट राष्ट्रिय सम्मान प्रदान गरिएको थियो । हड्डीको क्यान्सरबाट पीडित ६९ वर्षकी सद्धम्मजोतिकधज गुरुमाँको उपचारका क्रममा बुधवार विहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा देहावसान भएको थियो । विद्यावारिधि उपाधि हासिल गर्ने उहाँ नेपालको पहिलो अनागारिका हुनुहुन्छ ।

उहाँले सन् १९९९ मा भारतस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट ‘अभिधम्मवतपुरन्तिक’ सम्बन्धमा विद्यावारिधि गर्नु भएको थियो । बुद्ध ज्योति अन्तराष्ट्रिय संघ, नेपाल शाखाका संस्थापक अध्यक्ष र सुलक्षणकीर्ति विहार, चोभारका संस्थापक प्रमुख रहनु भएकी गुरुमाँले बर्मा र भारतबाट अभिधम्म र बौद्ध उच्च शिक्षा प्राप्त गर्नु भएको थियो ।

नेपालमा बुद्ध शासन चीरस्थायी बनाउन, महिला शिक्षा तथा सशक्तिकरण र समाजसेवामा उहाँको अतुलनीय योगदान रहेको छ । गृहस्थ नाम शारदा मानन्धर भएकी गुरुमाँ २०२७ साल मंसिर १ गते बनारसमा थेरबाद बौद्ध परम्परा अनुसार प्रव्रजित भएर अनोजा नाममा बौद्ध शासनमा सर्मपित हुनुभएको थियो ।

हरिनारायण मानन्धर र रत्नमाया मानन्धरको माहिली छोरीको रुपमा बनेपामा उहाँको जन्म भएको थियो । उहाँका दजनौ पुस्तक प्रकाशित छन् भने उहाँले करिब ३६ देशको भ्रमण गर्नुभएको छ ।