काठमाडौं, भदौ १९ । सर्वसाधारणबाट निःशुल्करुपमा संकलन गरिने रगतको शुल्क शतप्रतिशत बढाउने तयारी रक्त सन्चार केन्द्रले गरेको छ ।
रक्त परीक्षणबापत लाग्ने शुल्क र सुरक्षित राख्दा लाग्ने खर्च देखाउँदै केन्द्रले प्रतिप्रिन्ट (पोका) रगतको शुल्क एक हजार रुपैयाँभन्दा बढी पुर्याउने तयारी भइरहेको नेपाल रेडक्रस सोसाइटीअन्तर्गत् सन्चालित रक्त सन्चार केन्द्रनिकट स्रोतले जनाएको छ ।
सर्वसाधारण रक्तदाताबाट लिइने रगत निःशुल्करुपमै दिइने भएपनि विभिन्नखाले परीक्षण र रगतको सुरक्षा शुल्कको बहाना देखाएर शुल्क बढाउन लागिएको बुझिएको छ ।
ब्लड डोनर्स एसोसिएसनले भने रगतको शुल्क बढाउने तयारीप्रति असहमति जनाएको छ । शुल्क बढाएको खन्डमा विरोध गर्ने एसोसिएसनले जनाएको छ ।
यसैबीच, नेपाल रेडक्रस सोसाइटीको ५६औं स्थापना दिवसको अवसरमा काठमाडौंको गणबहाल उपशाखाले मंगलबार रक्तदान, ब्लडप्रेसर र मधुमेहको परीक्षण आयोजना गर्यो ।
वि.सं. २०६० सालमा स्थापना भएको सो उपशाखाले हालसम्म केन्द्र र अरु दातृ संघ–संस्थाको सहयोगबिना व्यक्तिगत चन्दा संकलन गरेर सामाजिक कार्य गर्दै आएको उपशाखाका सभापति अमृतनारायण मानन्धरले जानकारी दिए ।
२०२० भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटीको हाल सबै जिल्लामा रहेका शाखाहरुमा १० लाख २१ हजारभन्दा बढी सदस्य र ९० हजार स्वयंसेवक रहेको जनाएको छ ।
कार्यक्रममा विभिन्न दलका नेता, सभासद, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्