Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्छ : मन्त्री शर्मा


91
Shares

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फुल्चोकी माध्यमिक विद्यालयको ६४औँ स्थापना दिवस कार्यक्रममा सहभागी हुँदै मन्त्री शर्माले स्थानीय तहका जनप्रतिनिधिले शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना बनाउनपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “जुन पालिकाका जनप्रतिनिधि लक्ष्यसहित आएका छन्, उनीहरुले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर राम्रो बनाएका छन् । केहीमा अझ बिग्रेको गुनासो पनि अभिभावकले गरिरहेका छन् । सबै स्थानीय तहका जनप्रतिनिधिले शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना बनाउनु आवश्यक छ ।”

मन्त्री शर्माले शैक्षिक गुणस्तर वृद्धिका लागि सूचना प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । विद्यालय तहका विद्यार्थीमा सूचना प्रविधिको दुरुपयोग बढ्ने खतरा पनि उत्तिकै रहेकाले यसतर्फ सचेत हुन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । पछिल्लो समय समाजमा फेरिएको चेतनासँगै सामुदायिक विद्यालय राम्रा बनाउने र आफ्ना छोराछोरी त्यसमै पढाउने क्रम बढ्दै जानु सकारात्मक भएको उल्लेख गर्दै मन्त्री शर्माले समाजका अगुवाले यसमा अझै मेहेनत गर्न आवश्यक रहेको बताउनुभयो ।

“कुनै बेला सामुदायिक विद्यालयमा गरिबका छोराछोरीले मात्र पढ्छन् भनेर हेप्ने गरिन्थ्यो, विस्तारै सामुदायिक विद्यालयप्रतिको आकर्षण बढिरहेको छ, यसलाई अझै बढाउँदै लैजानुपर्छ, ”, उहाँले भन्नुभयो ।

वामपंथी नेता स्व दिलबहादुर श्रेष्ठको अगुवाईमा २०१६ सालमा स्थापित सो विद्यालयमा हाल कक्षा १२ सम्म एक हजार दुई सय ५८ विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।