३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


नेपालको क्षेत्रीय कूटनीतिमा थप प्रभावकारिता वृद्धि : प्रधानमन्त्री


0
Shares

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्षेत्रीय संगठनको प्रभावकारी गतिविधिबाट एकार्का राष्ट्रबीच भावनात्मक सम्बन्धको विकास, समस्या समाधानमा एकताको जागृति र सामूहिक काममा सहकार्यको भावना कायम भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै काठमाडौंमा चौथो बिम्स्टेक शिखर सम्मेलन समापनपछि म्यानमार र श्रीलंकाका राष्ट्रपति तथा भारतका प्रधानमन्त्रीसँग द्विपक्षीय हितका विषयमा औपचारिक ढंगले छलफल भएको जानकारी दिए ।

सम्मेलनमा जारी १८ बुँदे घोषणापत्र कार्यान्वयनमा बिम्स्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखसँग बेग्लाबेग्लै औपचारिक छलफल हुँदा एक देशविरुद्ध हुने आतंकवादी क्रियाकलाप हुन नदिने, पञ्चशीलको सिद्धान्तमा अडिग रहने र अहस्तक्षेपकारी सिद्धान्तलाई परिपालन गर्ने महत्वपूर्ण विषयमा छलफल भएको बताए ।

रक्सौल–वीरगन्ज–काठमाडौं रेलमार्ग अध्ययन गर्न भएको समझदारी, नेपाल–भारतमैत्री पशुपतिनाथ धर्मशाला उद्घाटन, अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठा र सामर्थ्य स्थापना र नेपालको क्षेत्रीय कूटनीतिमा थप प्रभावकारिता बढेको उनले प्रतिनिधिसभालाई बताए ।

प्रधानमन्त्री ओलीले सम्मेलनले बिजुली बिक्री गर्ने बाटो खोलेको बताउँदै भने–‘सहयोगका १४ क्षेत्र पुनःसंरचना गर्ने, बौद्ध परिपथ स्थापना गर्ने, सांस्कृतिक आदान–प्रदानलाई थप विस्तार गर्ने सहमति हुनुले सम्मेलन सफल भएको बताउँछ ।’

प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनकाबीच अधिकतमरुपमा परिचालन भइ छोटो समयमा सफलता हासिल गर्न सहयोग गर्ने नेपाली जनता, सुरक्षा निकाय र बौद्धिक वर्गको महत्वपूर्ण भूमिका रहेको पनि बताए । रासस