Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


पाँच वर्षमा सुनको मूल्य दोब्बर


4.5k
Shares

काठमाडौं । पछिल्लो पाँच वर्षको अवधिमा स्थानीय बजारमा सुनको मूल्य प्रतितोला करिब दोब्बरले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आर्थिक वर्ष २०७५÷०७६ को वैशाख महिनामा प्रतितोला ५८ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य चालु आर्थिक वर्षको वैशाखमा प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँ पुगेको छ । पाँच वर्षको अवधिमा प्रतितोलामा ५३ हजार रुपैयाँ पाँच सय रुपैयाँले बढेको छ ।

२०७६ मा महामारीका रूपमा फैलिएको कोरोना भाइरस र रुस–युक्रेन युद्धका कारण विश्व बजारमा सुनको मूल्य अकासिँदै गएको महासंघको भनाइ छ ।

विश्वमा फैलिएको कोरोना महामारीपछि विश्वका धनी लगानीकर्ता सुनमा आकर्षित भएकाले यसको मूल्य बढेको व्यवसायीहरु बताउँछन् ।

सुरक्षित लगानीको क्षेत्र सुन मानिएकाले पनि यसतर्फ लगानीकर्ता आकर्षित हुँदा मूल्य बढ्न गएको हो ।

महासंघको तथ्यांकअनुसार पाँच वर्षमा सुनको मूल्य निरन्तरण उकालो लागेको छ । आर्थिक वर्ष २०७६ मा सुनको मूल्य प्रतितोला ५९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य २०७७ मा एकै पटक तोलामा ३१ हजार पाँच सय रुपैयाँले बढेर तोलामा ९१ हजार रुपैयाँ पुगेको छ ।

यस्तै आर्थिक वर्ष २०७८ मा सामान्य घटेर ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । २०७९ मा तोलामा आठ हजार तीन सय रुपैयाँले बढेर ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, २०८० वैशाख २१ मा तोलामा १३ हजार दुई सय रुपैयाँले बढेर एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै २०७८ फागुनबाट सुन आयातको कोटा प्रतिदिन २० किलोबाट १० किलोमा घटाएको हो ।

यसैबीच, पाँच वर्षको अवधिमा चाँदीको मूल्यसमेत तोलामा दोब्बरले वृद्धि भएको छ । २०७५ सालमा प्रतितोला ७५५ रुपैयाँ रहेको चाँदीको मूल्य बढेर हाल प्रतितोला एक हजार ४ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।