Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


हाजिरी गरेको एक घण्टामै सरुवा


4.2k
Shares

काठमाडौं । सर्लाहीको हरिपुर्बा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन् । यादवले यही वैशाख १७ गते बिहान हरिपुर्बा नगरपालिकामा गई हाजिरी गरेका थिए । नगरपालिकाका कर्मचारीले उनलाई स्वागत गरे। स्वागत कार्यक्रम नसकिँदै उनको हातमा अर्को चिठी हात पर्‍यो ।

उनलाई संघीय मामिला मन्त्रालयले पहिलेकै कार्यालय मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरेको थियो । ‘मलाई हाजिरी गरेको एक घण्टामै सरुवा गरियो । किन सरुवा गरियो थाहा छैन,’ यादवले भने, ‘तर सरकारी कर्मचारी भएपछि सरकारले जहाँ खटाउँछ, त्यहाँ जानुपर्छ ।’

हरिपुर्बा नगरपालिकाका मेयर विनोदकुमार साह प्रमुख प्रशासकीय अधिकृत खोज्न एक महिनादेखि काठमाडौंमै बसेका छन् । ‘संघीय मामिला मन्त्रालय धाउँदा धाउँदा निकै कठिनाइले प्रमुख प्रशासकीय अधिकृत पाएको थिएँ । तैपनि एक घण्टामै सरुवा भयो,’ मेयर साहले भने, ‘काठमाडौं आएको एक महिनाभन्दा बढी भइसक्यो। प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन ।’

आफ्नो पालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएपछि मात्र जिल्ला फर्कने साहले बताए । संघीय मामिला मन्त्रालयका सहसचिव तथा कर्मचारी प्रशासन महाशाखाका प्रमुख कमल भट्टराईले विविध कारणवश कोही कर्मचारीको जिम्मेवारी चाँडो फेरबदल गर्नुपर्ने बताए । ‘यसमा धेरै कारणहरू जोडिएका हुन्छन्,’ उनले भने ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Skip This