काठमाडौं, भदौ १९ । एसिया कप क्रिकेट छनोटअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले हङकङलाई ९६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको बाङ्गीमा आज बिहान टस जितेको नेपालले पहिले ब्याटिङ गर्दै ३७ ओभर पाँच बलमा सबै विकेट गुमाएर केवल ९५ रन बनाएको हो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक १८ रन बनाउँदा अनिल शाहले १५, बसन्त रेग्मीले अविजित १५, कप्तान पारश खड्काले १४ र ज्ञानेन्द्र मल्लले १२ रन बनाए ।
हङकङका एहसान खानले ४ विकेट लिए भने तलवीर अफजल र एजाज खानले २–२ विकेट लिए ।
प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई आज ठूलो अन्तरको जित आवश्यक भए पनि नेपालले आवश्यकता अनुसारको प्रदर्शन गर्न भने सकेन ।
एसिया कप छनोटको सुरुवाती दुई खेलमा पराजित भएपछि नेपाल दबाबमा आएको थियो । त्यसपछि लगातार दुई खेल जित्दै नेपालले सम्भावना जीवित राखेको थियो ।
एसिया कप छनौट प्रतियोगिताको अंक तालिकामा ओमानको ७ अंक छ भने यूएईको ६ र हङकङको ५ अंक छ । अहिलेसम्म ४ अंक बटुलेको नेपाल भने चौथो स्थानमा छ । आयोजक मलेसियाको २ अंक छ भने सिंगापुर अंकविहीन अवस्थामा छ ।








प्रतिक्रिया दिनुहोस्