Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


एडलेडमा पुगेर टुंगियो मंगोलियन हार्टको अष्ट्रेलिया टुर


663
Shares

काठमाडौं । चर्चित नेपाली ब्यान्ड मंगोलियन हार्टको अष्ट्रेलिया टुर सम्पन्न भएको छ ।

१० अप्रिलमा मेल्बर्नबाट सुरु भएको अष्ट्रेलियाको सांगितिक यात्रा आइतबार एडलेडमा पुगेर टुंगिएको हो ।

ब्यान्डले अप्रिल १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २१ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर आफ्नो अन्तिम प्रस्तुति दिएको हो ।

१० वर्षपछि मंगोलियन हार्ट अष्ट्रेलियाको टुरमा निस्किएको थियो । त्यसकारण कन्सर्ट भएका हरेक शहरमा मंगोलियन हार्टलाई हेर्न र सुन्न दर्शकको ठूलो ‘क्राउड’ जम्मा भएको ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले बताए ।

हरेक शहरमा भएको कन्सर्टमा ब्यान्डका फ्रन्ट म्यान राजु लामाले चर्चित गीत ‘मेरो नेपाल’बाट आफ्नो प्रस्तुति सुरु गर्दै ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ लगायत बयान्डका चर्चित गीतहरु गाएर दर्शक झुमाएका थिए ।

आइतबार राति एडलेडमा भएको अन्तिम प्रस्तुतिमा लामाले ‘सायद तिम्रो बाटोमा’ गीत गाउँदै म्यूजिकल टुर टुंग्याएका थिए । यात्रा टुंग्याउँदै गर्दा दर्शकदिर्घाबाट सबैले हात उठाएका थिए । लामाले मुस्कुराउँदै स्टेजबाटै दर्शकसँग सेल्फी खिचेका थिए ।

‘हाम्रो ‘पखाईमा भिज्यो सिरानी’ गीतझै मंगोलियन हार्टलाई पर्खिदा पर्खिदै हामीलाई प्रेम गर्ने यहाँका दर्शकहरुको पर्खाइमा सिरानी भिजेको रहेछ । जहाँ पुगेपनि सबैको उस्तै आग्रह थियो । चाँडै फर्की आऊ, हामी पनि अब चाँडै फर्किन्छौं, १० वर्ष लगाउँदैनौ भनेका छौं ।’ लामाले भने ।

३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यही ब्यान्डबाट चर्चामा आएका गायक हुन्, गायक लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।