Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


सबै विद्यालयमा पुग्यो नयाँ पाठ्यपुस्तक

‘नपुगे बिक्रेतालाई फोन गर्नुस्, विद्यालयमै पुर्याइदिन्छ’

91
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष सबै जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । यदि, कतै अभाव भए नजिकको बिक्रेताकहाँ सम्पर्क गर्न आग्रह गर्दै मन्त्रालयले भनेको छ –‘दुई दिनभित्रै बिक्रेताले विद्यालयमै पाठ्यपुस्तक पुर्याउनेछ ।’ जनक शिक्षा सामग्री केन्द्र, निजी प्रकाशक र बिक्रेताले तोकेकै समयमा पाठ्यपुस्तक छपाइ गरेका कारण वैशाख दोस्रो साताभित्र सबै जिल्लामा पाठ्यपुस्तक पुगेको हो ।

चालु शैक्षिक सत्रका लागि निजी प्रकाशकले कक्षा १ देखि ५ सम्म २३ लाख ९२ हजार ६ सय ३६ र कक्षा ६ देखि १० सम्म २० लाख ४६ हजार ४ सय ५० विद्यार्थीका लागि आवश्यक संख्यामा पाठ्यपुस्तक छपाइ गरी वितरण गर्ने लक्ष्य राखेको थियो । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले चार महिनाको अवधिमा कक्षा ६ देखि १० सम्मका लागि १ करोड ५५ लाख पाठ्यपुस्तक छपाइ र बिक्री गरेको जानकारी दिनुभयो ।

उहाँले केन्द्रको सात प्रदेश र केन्द्रीय कार्यालयमा आवश्यक मात्रामा पाठ्यपुस्तक रहेको दाबी गर्नुुभयो । केन्द्रले चैत १५ देखि हिमाली, दुर्गम र सुगम जिल्लामा बिक्री वितरण शुरू गरेको थियो । मन्त्रालयका सचिव एवं जनक किक्षा सामग्रीका अध्यक्ष रामकृष्ण सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको निरन्तर निर्देशनको कारण यो वर्ष सबैको सहयोगले समयमै सबै विद्यालयमा पाठ्यपुस्तक पुगेको बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।