Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


दश प्रतिशत शैय्या गरिब बिरामीलाई छुट्याउन मन्त्रालयको निर्देशन


494
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शैय्याको १० प्रतिशत शैय्या गरिबीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव एकदेव खनालले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई आज परिपत्र जारी गरी विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शैय्याको दश प्रतिशत शैय्या छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने भएको व्यवस्थाअनुसार १० प्रतिशत शैय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने उल्लेख छ ।

मन्त्रालयले केही दिनअघि गरेको अनुगमनमा धेरै अस्पतालले कूल शैय्याको १० प्रतिशत शैय्या नछुट्याएको पाइएको थियो ।

यस्तै अस्पतालमा कार्यरत जनशक्तिलाई पनि न्यूनतम तलब दिएको पाइएको उल्लेख गर्दै पूर्ण तलब दिनसमेत परिपत्रमा निर्देशन दिइएको छ । मन्त्रालयले अनुगमनका क्रममा स्वास्थ्य संस्थाले सवारी साधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो । मन्त्रालयले परिपत्रमा उल्लेख गरिएका कुरा लागू नगरे कारबाहीसमेत गर्ने स्वास्थ्य संस्थालाई जनाएको छ ।